काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई मंगलबार भेट्ने भएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको समापनमा बोल्दै थापाले आफू देउवालाई भेट्न जाने बताएका हुन् ।
थापाले भने, ‘म पनि जान्छु । भोलि जान्छु । गएर भेट्छु । यो त हाम्रो पार्टीको परम्परा हो । हाम्रो घरभित्रको कुरा हो । यसमा कसैले कहीँकतै बद्ख्वाइँ गर्नुपर्ने कुनै कारण छैन । कसैले पनि नगर्नुहोला ।’
गगननिकट एक नेताका अनुसार मंगलबार देउवा निवासमै पुगेर हुने भेटमा थापाले कांग्रेसको पछिल्लो राजनीतिक तथा संगठनात्मक गतिविधिबारे देउवालाई जानकारी गराइनेछ । पार्टीलाई थप विभाजनतर्फ जान नदिन देउवालाई गगनले आग्रह गर्ने तयारी गरेको बुझिएको छ ।
सर्वोच्चको फैसला र त्यसपछि बदलिएको परिस्थिति
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएपछि कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चको संयुक्त इजलासले गगन नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले दिएको मान्यतालाई सदर गर्दै देउवा पक्षको रिट खारेज गरिदियो ।
तर उक्त फैसलाप्रति असहमति जनाउँदै देउवा पक्षले पुनरावलोकन निवेदन दर्ता गर्यो । त्यसपछि सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरिसकेको छ । यसको अर्थ अघिल्लो फैसला पुनः परीक्षण गर्ने कानुनी बाटो खुलेको छ ।
सर्वोच्चले अब पुनरावलोकनको प्रक्रियाबाट अघिल्लो फैसलामा पुनर्विचार गर्नेछ । अन्तिम निर्णय के हुन्छ भन्ने विषय भने अदालतको आगामी फैसलाले निर्धारण गर्नेछ । यही कारण कांग्रेसको आधिकारिकता विवाद कानुनी रूपमा अझै खुला छ ।
देउवा राष्ट्रिय भेलामा सहभागी
यहीबीच पूर्वसभापति देउवा करिब साढे पाँच महिनापछि साउन २८ गते स्वदेश फर्किए । उनलाई संस्थापन इतर समूहले एअरपोर्टमा भव्य स्वागत गरे । देउवालाई चुनदेविसम्म नेताकार्यकर्ताले स्कर्टिङ गर्दै पुर्याए ।
स्वदेश फर्किएलगत्तै उनी कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला(साउन २९-३१)मा सहभागी भएर सम्बोधन गरे ।
भेलामा देउवाले कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रसंग उठाउँदै आफू सर्वोच्चबाट न्याय पाउनेमा विश्वस्त रहेको बताए त्यसैगरी सम्मेलनको समापनमा उनले आफू हिन्दु भएको समेत बताए।
देउवा राष्ट्रिय भेलामा सहभागि भएपछि कांग्रेसभित्र समानान्तर रूपमा अघि बढिरहेको राजनीतिक गतिविधिलाई थप चर्चामा पुर्याएको छ । विशेष महाधिवेशनबाट गगन नेतृत्वमा आएपछि पनि कांग्रेसको एउटा धारले त्यसलाई पूर्ण रूपमा स्वीकार गरेको छैन । त्यसैको परिणामस्वरूप पार्टीभित्र फरक–फरक समूहका गतिविधि र भेला भइरहेका छन् ।
गगन–देउवा संवाद
यही परिस्थितिमा गगन देउवालाई भेट्न जान लागेका हुन् । गगनले आफैं यो भेटलाई पार्टीको परम्परा र ‘घरभित्रको कुरा’ भनेका छन् । यसले उनी देउवासँगको भेटलाई शक्ति प्रदर्शनभन्दा संवादको सुरुवातका रूपमा प्रस्तुत गर्न खोजिरहेको संकेत गर्छ ।
सर्वोच्चले पहिलो चरणमा विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधानिकता दिएको भए पनि पुनरावलोकनमा निस्सा दिएपछि कानुनी विवाद पुनः सक्रिय भएको छ । यस्तो अवस्थामा गगनले देउवासँग राजनीतिक संवाद अघि बढाउनु पार्टीको विवादलाई केवल अदालतको फैसलामा निर्भर नराखी राजनीतिक सहमतिबाट समाधान खोज्ने प्रयासका रूपमा राजनीतिक वृत्तमा चर्चा छ ।
अदालतले कानुनी विवादको निरुपण गर्न सक्छ, तर पार्टीभित्रको अविश्वास र राजनीतिक विभाजन अन्त्य गर्न सक्दैन । त्यसका लागि राजनीतिक नेतृत्वबीच संवाद र समझदारी आवश्यक हुन्छ भन्ने बुझेरै गगनले देउवासँग संवाद थाल्ने तयारी गरेको विश्लेषण राजनितीज्ञहरुले गरेका छन् ।












प्रतिक्रिया