काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत आफूलाई केही गर्न नसकेको भन्दै अहिले अरू कसैले पनि आफूविरुद्ध केही गर्न नसक्ने दाबी गरेका छन् ।
विदेशबाट स्वदेश फर्किएलगत्तै बिहीबार कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले आफू र पत्नी डा। आरजु राणा देउवाविरुद्ध विभिन्न निकायमार्फत मुद्दा चलाएर फसाउने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् ।
देउवाले आफूहरूलाई पक्राउ नगर्न अदालतले आदेश दिएको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा समेत केही नदेखिएको दाबी गरे ।
‘अदालतले शेरबहादुर र आरजुलाई नपक्रिनु भनेर आदेश दियो । तैपनि बदमासी गर्यो । सम्पत्ति शुद्धीकरण आयोग पहिलोपल्ट आयो, केही पनि छैन भन्यो, दोस्रोपल्ट आयो, केही छैन भन्यो’, उनले भने ।
देशमा अझै सचेत नागरिक र न्यायपालिका जीवित रहेको उल्लेख गर्दै देउवाले आफूविरुद्ध भएका गतिविधिका विषयमा आगामी दिनमा सबै कुरा स्पष्ट पार्दै जाने बताए ।
उनले आफू र पत्नी आरजुविरुद्ध देश तथा विदेशका विभिन्न निकाय प्रयोग गरेर मुद्दा लगाउने प्रयास भएको आरोपसमेत लगाए ।
‘यो देशको जनता छ, यो देशको अदालत छ । सबैले जानेको छ, बुझेको छ,’ देउवाले भने, ‘राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेन भने अरूले यहाँ के गर्न सक्छन् ?’
करिब साढे पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका देउवाले पार्टीभित्र देखिएका असहमति र विवाद समाधान गरी कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।













प्रतिक्रिया