काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक परिस्थितिबारे लामो छलफल भएको छ। शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकारका गतिविधिबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएको बताइएको छ।
करिब डेढ घण्टा चलेको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही तथा तराई–मधेसमा पछिल्लो समय देखिन थालेको साम्प्रदायिक तनावलगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ। राष्ट्रपति पौडेलले सरकार प्रमुख, प्रमुख राजनीतिक दलका नेता तथा प्रतिपक्षी नेताहरूसँग समय–समयमा भेटवार्ता गर्दै राजनीतिक परिस्थिति बुझ्ने र आवश्यक परामर्श लिँदै आएका छन्।
सोही क्रममा एमाले अध्यक्ष ओलीसँग शुक्रबार भेटवार्ता भएको हो । ओलीसँगको यो भेटवार्तालाई पनि नियमित राजनीतिक संवादकै निरन्तरता भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तर, शुक्रबारको भेटमा ओलीले सरकारको कार्यशैलीप्रति भने खुलेर राष्ट्रपतिसँग असन्तुष्टि जनाएको बताइएको छ। ओलीले सरकार पूर्वाग्रही ढंगले अघि बढेको र आशंकाकै आधारमा राजनीतिक नेता तथा व्यवसायीहरूमाथि पक्राउ तथा धरपकड गर्ने प्रवृत्ति बढेको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। सरकारका पछिल्ला गतिविधिले राजनीतिक वातावरण थप तनावपूर्ण बन्न सक्ने भन्दै ओलीले राज्यका निकायको प्रयोगमा निष्पक्षता र कानुनी प्रक्रियाको पालना आवश्यक रहेको धारणा राखेको बताइएको छ।
त्यस्तै, सरकार संसद्प्रति पर्याप्त जवाफदेही नदेखिएको विषय पनि ओलीले उठाएका थिए। संसद्, राजनीतिक दल र सरकारबीचको सम्बन्ध तथा सरकार सञ्चालनको शैलीबारे समेत उनले राष्ट्रपतिसँग आफ्नो धारणा राखेको ओली निकट स्रोतले बताएको छ । भेटमा पछिल्लो समय तराई–मधेसमा भड्किन खोजेको साम्प्रदायिक भावनाबारे पनि गम्भीर छलफल भएको थियो। सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि बढ्न नदिन राज्य संवेदनशील हुनुपर्ने विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ।
राष्ट्रपति र प्रतिपक्षी दलका नेताबीच भएको यो भेटलाई पछिल्लो राजनीतिक परिस्थितिमा अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारको कार्यशैलीप्रति प्रतिपक्षी दलहरु कांग्रेस, एमाले नेकपा लगायत सबैको असन्तुष्टि बढिरहेका बेला राष्ट्रपतिसँग ओलीको लामो भेटवार्ता भएको हो ।












प्रतिक्रिया