काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाका संयोजक डा. शशाङ्क कोइरालाले साउन २९ गतेदेखि सुरू हुने भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएका हुन् । नेता कोइरालाका अनुसार राष्ट्रसामु रहेका चुनौतीको सामना गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको छ ।
उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ दिशा र नयाँ जीवन दिने उद्देश्यसहित भेला आयोजना गर्न लागिएको बताए । “राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ दिशासहित नयाँ जीवन दिने दृढ सङ्कल्प गर्दछु,” कोइरालाले भने ।
पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतले कांग्रेससम्बन्धी दिएको आदेश सकारात्मक रहेको प्रतिक्रिया दिए । यसैबीच, उपचारपछि देउवा नेपाल फर्किने क्रममा सम्भावित धरपकडबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा कोइरालाले त्यसको विरोध गर्ने बताए ।
कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आगामी दिशा, संगठन सुदृढीकरण र वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ ।












प्रतिक्रिया