सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं–२ नवलपुरमा बसको ठक्करबाट सुनकोशी नदीमा खसेको कारमा तीनजना रहेको प्रहरीले पुष्टि गरेको छ ।
सोमबार दिउँसो सडक छेउमा रोकेर राखिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिँदा कार नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख डिएसपी विजय श्रेष्ठका अनुसार कारमा कार चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं–७ का दिलकुमार तामाङ, कारमा मध्यपहाडी लोकमार्गको पुनर्निर्माणको काम खटिएका स्काइभेटर चालक गोलञ्जोर गाउँपालिका वडा नं–१ का गणेश थापा र नामथर वतन नखुलेका एक जना सहयोगी रहेका थिए । कार सुनकोशी नदीमा खसेको पुष्टि भए पनि नदीमा कार देखिएको छैन । तीन जना अझै बेपत्ता छन् ।
मध्यपहाडी राजमार्ग पुनःनिर्माणको ठेकेदार कम्पनीको कार भएको जानकारी प्राप्त भएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा पुगेर कार तथा त्यसमा सवार व्यक्तिहरूको खोजी कार्य सुरू गरेका छन् ।
दुर्घटनामा संलग्न बस र बसका चालक फिक्कल गाउँपालिका वडा नं–६ का हेमबहादुर तामाङलाई प्रहरी चौकी खाङसाङमा नियन्त्रणमा लिई राखिएको डिएसपी श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहसहितको टोलीसमेत घटनास्थलतर्फ गएको छ । नदीको बहाव ठूलो भएकाले उद्धार कार्यमा समस्या भएको छ । खोजी कार्यमा गोताखोर टोली परिचालन गरिसकिएको छ ।












प्रतिक्रिया