राजनीति-समाज

रास्वपाका कार्यकर्ता हिन्दुवादी अभियन्ता हुन पाउँछन् : सांसद् झा

रास्वपाका कार्यकर्ता हिन्दुवादी अभियन्ता हुन पाउँछन् : सांसद् झा


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद् मनिष झाले पार्टीका कार्यकर्ताहरू हिन्दुवादी अभियन्ता हुन पाउने बताएका छन् । आइतबार जनकपुरमा पत्रकारहरूसँग कुराकानीका क्रममा उनले हिन्दु सम्राट सेनामा रास्वपाको कार्यकर्ता पनि भएको स्वीकार गर्दै यस्तो बताएका हुन् ।

हिन्दु सम्राट सेनाको तर्फवाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एकजना रास्वपाका सदस्य रहेका थिए । उक्त विषय सार्वजनिक भएपछि रास्वपाको आलोचना भएको थियो ।

Advertisement

सांसद झाले यस विषयलाई लिएर अतिरञ्जित गर्न आवश्यक नरहेको बताए । पार्टीको सदस्य र धार्मिक आस्थाका आधारमा अभियानमा सहभागी हुनु दुवै व्यक्तिगत स्वतन्त्रताको विषय भएको उनको भनाई छ । उनले वार्तामा सहभागी भएकै आधारमा विवाद सिर्जना गर्नु अनुचित भएको टिप्पणी गरे ।

उनले रास्वपाका पार्टी सदस्य भएको कारणले नै आन्दोलनलाई हिंसात्मक बाटोमा नभई वार्तामार्फत समाधान खोज्न सफल भएको दाबी गरे । हिन्दु सम्राट सेनाका सम्भावित र उचित मागमाथि थप छलफल गरेर सरकार अगाडि बढ्ने उनको भनाइ छ ।

उनका अनुसार, हिन्दु सम्राट सेनाका प्रतिनिधिसँग सरकारले साढे नौ घण्टा वार्ता गरेको थियो । आन्दोलनकारीका मागहरू संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिले सम्भव हुने गरी परिमार्जन गर्न लामो समय छलफल गरिएको उनको दाबी छ । वार्तामा गृह मन्त्रालय, मधेस प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए ।

आन्दोलनकारीले राखेका मागमध्ये कार्यान्वयनयोग्य र उचित विषयलाई मात्र अघि बढाउन सहमति जुटाउने प्रयास गरिएको सांसद झाले बताए ।