राजनीति-समाज

चितवनमा स्कुल पढ्दापढ्दै लाहुरे बन्न गएका थिए निर्मल पुर्जा

चितवनमा स्कुल पढ्दापढ्दै लाहुरे बन्न गएका थिए निर्मल पुर्जा


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

भरतपुर । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनले चितवनको भरतपुर–१, रामनगरस्थित घर शोकमग्न बनेको छ । पाकिस्तानको ‘ब्रोड पिक’मा गएको हिमपहिरोमा परेर जीवन गुमाएका उनी साहस, सङ्घर्ष र सफलताको प्रतीक मानिन्थे । घरमा उनका तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन र श्रद्धाञ्जली अर्पण गरिएको छ । आफन्त र छिमेकीहरू भावुक हुँदै उनको बाल्यकाल र साहसिक जीवनको स्मरण गरिरहेका छन् ।

निर्मलका माइलो दाइ जीतबहादुर पुर्जा पुनले भाइको अन्तिम यात्रा सम्झिँदै आँसु झारे । उनले भने, ‘पहिले हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है भन्थ्यो, तर पाकिस्तान जाने बेला केही नभनी गयो ।’ यसले परिवारको पीडा झनै गहिरो बनेको छ । निर्मलका चार दाजुभाइ र एक बहिनी छन्, बहिनी अस्ट्र्लियामा बस्छिन् । उनका बुबा पनि ब्रिटिस आर्मीमा थिए ।

Advertisement

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, दानामा जन्मिएका निर्मलले चितवनको आँपटारीस्थित स्मल हेभन स्कुलमा कक्षा ३ देखि १० सम्म अध्ययन गरेका थिए । कक्षा १० को टेस्ट परीक्षा दिएपछि उनले एसएलसी नदिई ब्रिटिस आर्मीमा भर्ती भएका थिए । पछि जागिर छाडेर पर्वतारोहणमा लागेका उनले १४ वटा भीमकाय हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

स्मल हेभन स्कुलका प्रशासक धर्मराज घिमिरेका अनुसार निर्मल खेलकुद र अतिरिक्त क्रियाकलापमा अब्बल थिए । अग्रजलाई सम्मान गर्ने स्वभावका कारण सबैको मन जितेका उनी विश्व रेकर्ड बनाएपछि विद्यालयले रथयात्रा निकालेर सम्मान गरेको थियो । गणित शिक्षक केशव घिमिरेले पनि उनलाई साहसी र खेलकुदप्रेमी विद्यार्थीका रूपमा सम्झिन्छन् ।

निर्मलले आमालाई हेलिकप्टरमा राखेर हिमालको बेसक्याम्पसम्म पुर्‍याएको घटना अझै स्मरणीय छ । उनका सहपाठी, शिक्षक र आफन्तहरूका लागि यो क्षति असह्य बनेको छ । घिमिरेले भन्छन्, ‘निर्मल असाधारण व्यक्ति थिए, कुनै उपाय अपनाएर बाँच्छन् भन्ने लागेको थियो, तर हामीलाई छाडेर गए ।’

उनको जीवन यात्रा साहसिक मात्र नभई प्रेरणादायी पनि थियो । बाल्यकालदेखि नै अनुशासन, खेलकुद र साहसमा अब्बल निर्मलले नेपाली युवालाई विश्वसामु चिनाएका थिए । आज उनी नभए पनि उनका उपलब्धि र साहसिक कथा नेपाली समाजमा सदैव जीवित रहनेछन् ।