काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताएका छन् ।
उज्यालो नेपाल पार्टी दोलखा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे ।
उनले भने, ‘उज्यालो नेपाल पार्टी बरु एक्लै रहन्छ, कुनै पार्टीसँग मिसिँदैन । कुनै पनि हालतमा कुनै पार्टीसँग मिल्दैन । बरु यो पार्टीसँग अरू पार्टी मिसिन आउने वातावरण हामी बनाउँदैछौँ । धेरै पार्टीका साथीहरू उज्यालो नेपाल पार्टीमा सहभागी हुन हामीसँग छलफलमा हुनुहुन्छ । देशव्यापीरूपमा उज्यालो नेपाल पार्टीप्रतिको आकर्षण बढ्दो छ र यो क्रम अझ बढ्दै जानेछ ।’
घिसिङले उज्यालो नेपाल पार्टीले भविष्यमा देशको नेतृत्व गर्ने दाबी गर्दै हरित क्रान्तिमार्फत मुलुकलाई समृद्धितर्फ लैजाने एकमात्र पार्टी आफ्नो भएको बताए । ‘तपाईँहरू ढुक्क भएर बस्नुस् । उज्यालो नेपाल पार्टीले आगामी दिनमा यो देशको नेतृत्व गर्नेछ। हरित क्रान्ति गरेर देशलाई समृद्ध बनाउने पार्टी यही हो। पार्टी हराउँछ कि भन्ने कुनै निराशा लिनु पर्दैन’, उनले भने ।
दोलखा जिल्ला र बाग्मती प्रदेशमा पार्टीको प्रभाव तीव्ररूपमा बढिरहेको दाबी गर्दै उनले दोलखा उज्यालो नेपालको किल्ला बन्ने बताए । ‘दोलखा मात्र होइन, बाग्मती प्रदेश नै उज्यालो नेपालको किल्ला बन्ने चरणमा पुगेको छ । हामी बाग्मती प्रदेशमा सरकार बनाउँछौँ र त्यसपछि देशव्यापीरूपमा पनि उज्यालो नेपाल पार्टीको सरकार बन्ने क्रममा अघि बढ्नेछ’, उनले दाबी गरे ।
आगामी स्थानीय तह निर्वाचनमा पार्टीको सशक्त उपस्थिति रहने उल्लेख गर्दै घिसिङले त्यसपछिको निर्वाचनबाट उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने दाबी गरे । वर्तमान सरकार पाँच वर्ष टिक्ने भनिए पनि पाँच महिनामै अस्थिरताको सङ्केत देखिएको उनको टिप्पणी थियो ।
उनले भने, ‘अहिले पाँच वर्षको सरकार भनिएको छ, तर पाँच महिनामै सरकार टिक्ने अवस्था कमजोर देखिइसकेको छ । हामीले पाँच वर्ष नै कुर्नुपर्छ जस्तो लाग्दैन । त्यसैले उज्यालो नेपाल पार्टी अब देशको विकल्पका रूपमा स्थापित हुँदै अघि बढिरहेको छ ।’












प्रतिक्रिया