काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेतासँग भएको छलफलमा बोल्दै थापाले कुनै पनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य र आधिकारिकता पुष्टि गर्नुपर्नेमा जोड दिए।
उनले नेपाली कांग्रेस मुलुकको मुख्य तथा जिम्मेवार राजनीतिक शक्ति भएकाले समाजमा देखिने जटिल परिस्थितिलाई समाधान गर्ने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए।
पार्टीका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिबार बिदाको दिन पनि केन्द्रीय कार्यालय खुला रहने जानकारी दिँदै थापाले पार्टीका कर्मचारी, पदाधिकारी तथा आफू स्वयं पनि नेता–कार्यकर्ताको सम्पर्कमा रहने बताए। संसदीय दलका नेता तथा सांसदहरूलाई समेत सक्रिय रूपमा परिचालन गरिएको उनको भनाइ थियो।
छलफलका क्रममा थापाले भने, ‘कुनै पनि विषय सार्वजनिक हुनेबित्तिकै हतारमा टिप्पणी गर्ने, बोल्ने वा लेख्ने प्रवृत्तिलाई त्यागौँ। राजनीतिक नेतृत्वले विवेकपूर्ण ढङ्गले सोच्नुपर्छ।’
सामाजिक दायित्वबारे बोल्दै थापाले भने, ‘आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो। हामी जिम्मेवार शक्ति भएकाले संयमित भएर सही सूचनाका साथ अघि बढ्नुपर्छ।’ छलफलमा केन्द्रीय नेताका साथै कोशी र मधेस प्रदेशका प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो।












प्रतिक्रिया