काठमााडौँ । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनअनुसार अघि बढाइने बताएका छन् । घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीबाट उम्किन नदिने सरकारको स्पष्ट प्रतिबद्धता रहेको उनले बताएका छन् ।
बिहीबार साँझ ‘राष्ट्रका नाममा सम्बोधन’ गर्दै प्रधानमन्त्री शाहले पछिल्ला घटनाले सिर्जना गरेको तनावप्रति सरकार गम्भीर रहेको उल्लेख गरे । उनले अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात नहुने विश्वास दिलाउँदै सत्यतथ्य बाहिर ल्याइने बताए ।
‘म विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ’, प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भने ।
प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिमा सबै नागरिकले संयमता अपनाउनु आवश्यक रहेको पनि उल्लेख गरे। सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए ।
उनले देशमा देखिएको असहज अवस्थाको अन्त्यका लागि सरकार मात्र होइन, सम्पूर्ण नागरिकको समान भूमिका आवश्यक रहेको बताए । ‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ’। उनले भने।
प्रधानमन्त्रीको भनाइले सरकार शान्ति–सुरक्षा कायम राख्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा कानुनी शासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको सन्देश दिएको छ ।












प्रतिक्रिया