काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सदभाव कायम राख्न सबैमा अपिल गरेका छन् ।
सभापति लामिछानेद्वारा आज जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विज्ञप्तिमार्फत उनले रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यलाई सदभाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशनसमेत दिएका छन् ।
सभापति लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने उल्लेख गर्दै बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सदभाव खल्बलिने गतिविधि नगर्न तथा नगराउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।
उनले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आह्वान गरेका छन् । “यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, नागरिकको जीउधनको रक्षा गर्न र परिस्थिति सामान्यीकरण गर्न सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौँ”, उनले विज्ञप्तिमा भनेका छन् ।
घटनाको मुख्य कारणसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई उचित न्याय र राहत उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
“घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बद्ध पक्षसँग विशेष आग्रह गर्दछौँ”, सभापति लामिछानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।












प्रतिक्रिया