बोस्टन, अमेरिका । बोष्टनमा मगर संघ अमेरिकाको १० औँ साधारण सभा हुने भएको छ । अगस्ट ८, २०२६ मा म्यासाचुसेट्स राज्यको बोस्टन सहरमा हुने साधारण सभाको तयारी अन्तिम अवस्थामा पुगेको अध्यक्ष दीपसागर बुढामगरले बताए ।
‘अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता उदाँउदो मगर पुस्तालाई मगर भाषा, संस्कार, संस्कृति पुस्तान्तरण आजको आवश्यकता’ भन्ने मूल नाराका साथ हुन लागेको वार्षिक साधारण सभालाई, मगर संघ अमेरिका केन्द्रीय समिति र यसको म्यासाचुसेट्स च्याप्टरले मुख्य व्यवस्थापन गर्ने जनाइएको छ ।
साधारण सभामा प्रमुखअतिथिको रुपमा विश्वप्रसिद्व पर्वतारोही तथा प्रेरक वक्ता तथा मोटिभेसनल स्पिकर हरि बुढामगर बेलायतबाट आउने आयोजकले जानकारी दिएका छन् ।
अफगानिस्तानको युद्वभूमिमा भएको बिस्फोटनमा दुवै खुट्टा गुमाएका बुढामगर कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले विश्वका सातै महाद्वीपका अग्ला हिमाल आरोहण पूरा गर्ने पहिलो ‘डबल एभब नी’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोहीका रूपमा कीर्तिमान कायम गरेका व्यक्ति हुन् । रोल्पाको विकट गाउँका बुढाले सातै महादेशका सर्वोच्च शिखरमा पुगेर संसारलाई चकित बनाएका छन् ।
नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मानबहादुर रानामगर न्युयोर्क, अन्तर्राष्ट्रिय मगर महासंघका महासचिब वीरभान घर्तीमगर बेल्जियमबाट र त्रिभुवन विश्वविधालयका प्रोफेसर झकेन्द्र घर्तीमगर नेपालबाट विशिष्ट अतिथिको रुपमा उपस्थित हुने जनाइएको छ । साधारण सभामा मगर संघ अमेरिकाका पूर्वअध्यक्ष महेन्द्र थापामगर, रुद्र आलेमगर, कुलदीप रानामगरले विशेष सम्बोधन गर्ने निवर्तमान अध्यक्ष याम पुनमगरले जानजकारी दिएका छन् ।
साधारण सभाबाट ‘बोस्टन घोषणा पत्र–२०२६’ पारित गरिने अध्यक्ष दीपसागर बुढामगरले बताए । अध्यक्ष बुढामगरका अनुसार कार्यक्रममा मगर सांस्कृतिक परेड ‘समुदघाटन समारोह’, ‘बन्द सत्र’ र ‘शुभकामना सांस्कृतिक साँझ–२०२६’ गरी चार चरणमा विभाजन गरिएको छ । कार्यक्रममा मगर छात्रवृत्ति–२०२६ अन्तर्गत अमेरिकामा अध्यनरत १० जना उत्कृष्ट विद्यार्थीहरुलाई प्रदान गरिने छ । त्यसैगरी ‘शुभकामना सांस्कृतिक साँझ–२०२६’ मा चर्चित कलाकारहरुको साथमा विभिन्न च्याप्टरहरुको साङ्गीतिक प्रस्तुति रहने छ ।
अमेरिकाभर छरिएर रहेका नेपाली र नेपाली मूलका सम्पूर्ण मगरहरुलाई मगर संघ अमेरिकाको एउटै छातामुनि गोलबद्व गरेर आपसी भेटघाट, सहयोग आदानप्रदानलगायत मगरहरुको भाषा, भेषभूषा, संस्कार संस्कृति र रीतिरिवाज तथा परम्पराहरुलाई संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यका साथ मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ मा भएको हो ।













प्रतिक्रिया