काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
आज सञ्चार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उनले मन्त्रालयबाटै निर्णय हुनसक्ने फाइल एकैदिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समन्वय आवश्यकपर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्नसमेत निर्देशन दिएका हुन् ।
सञ्चारमन्त्री तिमिल्सिनाले दैनिक कार्यसम्पादन समीक्षा, नियमित अनुगमन र कार्यसम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरबाही गर्नेलाई कारबाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताए ।
सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटलमैत्री बनाउँदै कानुन निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्न पनि उनले जोड दिए। सरकारको शासकीय सुधारसम्बन्धी सय कार्यसूची कार्यान्वयनमा मन्त्रालयले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै सञ्चारमन्त्रीले अब त्यसलाई निरन्तर सुधार र परिणामसँग जोड्नुपर्ने खाँचो औँल्याए। समीक्षा बैठक विगतको मूल्यांकनमा सीमित नभई सुधारको नयाँ आधार बन्नुपर्ने बताउँदै उनले कर्मचारीले आफ्नो जिम्मेवारीबारे आत्ममूल्यांकन गर्दै समस्या समाधानका लागि समयमै नेतृत्वलाई जानकारी गराउनुपर्ने बताए ।
उनले प्रत्येक कर्मचारीले आफ्नो शाखाबाट दैनिक रूपमा सम्पन्न भएका कामको जिम्मेवारी लिनुपर्ने बताउँदै विधि र प्रक्रिया पालना गर्दै ऐन–कानुनले निर्धारण गरेका उद्देश्यअनुसार परिणाममुखी ढंगले काम गर्नसमेत निर्देशन दिए। चालु आवको बजेट सुरुदेखि नै प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्णय प्रक्रिया र फाइल व्यवस्थापन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले फाइल कहाँ पुगेको छ र किन रोकिएको छ भन्ने जानकारी दिने प्रणाली विकास गर्न पनि निर्देशन दिए ।
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन दैनिक प्रतिवेदन बनाउनेगरी मूल्यांकन प्रणाली लागू गर्न, प्रत्येक शाखाले बिहान कार्ययोजना तयार गरी साँझ समीक्षा गर्ने अभ्यास सुरु गर्न तथा दैनिक, साप्ताहिक, पाक्षिक र मासिक समीक्षा बैठक नियमित सञ्चालन गर्न उनले निर्देशन दिए ।
उनले कार्यसम्पादन सम्झौताका आधारमा कर्मचारीको मूल्यांकन गर्नुपर्ने र मातहतका कर्मचारीलाई जवाफदेही बनाउन नसक्ने नेतृत्व पनि उत्तरदायी हुनुपर्ने प्रणाली विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।












प्रतिक्रिया