मुख्य समाचार

रास्वपा कांग्रेसको प्रतिष्पर्धी हो, दुश्मन होइन : सभापति थापा

रास्वपा कांग्रेसको प्रतिष्पर्धी हो, दुश्मन होइन : सभापति थापा


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

भरतपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको भन्दै विगतमा नयाँ राजनीतिक शक्तिहरूले पाएको जनमत नेतृत्वबीचको टकराव र शक्ति प्रयोगको सीमाबारे चेतना नहुँदा दुर्घटनामा परेको टिप्पणी गरेका छन् ।

रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले इतिहासमा तीन–चार पटक यस्तै प्रकारको जनमत प्राप्त भएका राजनीतिक शक्तिहरू उदाएको स्मरण गर्दै नेताहरूबीचको द्वन्द्व र जनमतबाट प्राप्त शक्तिको सीमालाई नबुझ्दा ती अवसरहरू गुमेको बताएका हुन् । ‘रास्वपाले पनि त्यही अवस्थाको सामना गर्न नपरोस् भन्ने मेरो शुभेच्छा छ,’ उनले भने ।

Advertisement

थापाले नेपाली कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा भए पनि दुश्मनी नरहेको स्पष्ट पारे । ‘हामी प्रतिस्पर्धी हौँ, दुश्मन होइनौँ । मन, वचन र कर्मले इमान्दारिताका साथ उचाइमा पुग्न चाहन्छौँ,’ उनले भने, ‘अहिले कांग्रेस प्रतिपक्षमा रहँदा पनि खुसी छ । किनकि विगतका घटनाले देशलाई समस्यामा परेका बेला कांग्रेसले जोगाएको छ ।’

संसदमा आफूहरू प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै थापाले आवश्यक परेको ठाउँमा सरकारको समर्थन र गलत काममा खबरदारी दुवै गर्ने बताए । ‘थपडी बजाउनुपर्ने ठाउँमा बजाउँछौँ, औँला ठड्याउनुपर्ने ठाउँमा ठड्याउँछौँ,’ उनले भने । आफ्नो राजनीतिक यात्राबारे बोल्दै थापाले बाल कांग्रेसबाट राजनीति सुरु गरेको स्मरण गरे । पार्टीहरू चुनाव जित्ने र सत्तामा पुग्ने लक्ष्यमा मात्र केन्द्रित हुँदा कमजोर बनेको निष्कर्ष निकाल्दै कांग्रेसले अहिले आत्मसुधारको अभियान थालेको बताए ।

‘बाहिर सफा गर्नुभन्दा पहिले घरभित्रै सफा गर्न थालेका छौँ । त्यसका लागि विद्रोह पनि गरेका छौँ,’ उनले भने, ‘बाहिर सफा गर्नजस्तो घरभित्र सफा गर्न सजिलो छैन । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ । पार्टीले कमजोरी गरिरहेको छ भने पार्टीभित्रैबाट आवाज उठाउन सक्नुपर्छ ।’

सभापति थापाले राजनीतिक दलभित्र अन्ध समर्थनको संस्कृति अन्त्य हुनुपर्नेमा जोड दिए । ‘हामीले आफ्ना नेतालाई ‘बा’ भनेर गल्ती गर्‍यौँ । तर, सधैँ पूजा गर्ने होइन विरोध गर्न पनि सक्नुपर्छ, प्रश्न गर्ने आँट र साहस हुनुपर्छ,’ उनले भने ।

उनले नेपालको प्रमुख चुनौती गरिबी, अज्ञानता र विभेद रहेको उल्लेख गर्दै राजनीतिक दलहरू यिनै समस्याविरुद्ध केन्द्रित हुनुपर्ने बताए । रास्वपाको महाधिवेशन भइरहेका बेला लोकतन्त्रका लागि संघर्ष गरेका कांग्रेसका योद्धाहरूको योगदान स्मरण गर्नुपर्ने उल्लेख गर्दै थापाले लोकतान्त्रिक आन्दोलनका बलिदानहरूलाई सम्मान गर्न सबैलाई आग्रह गरे ।