ह्युस्टन । विश्वकप २०२६ समूह चरणको आजको ग्रुप ‘एफ’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । विश्वकप २०२६ मा आफ्नो पहिलो जितका लागि सुरूवातदेखि अन्तिम मिनेटसम्म नेदरल्यान्ड्सले पूर्ण नियन्त्रण जमायो।
पहिलो गोल खेलको ५औँ मिनेटमा ब्रायन ब्रोबेले गरे । उनले १७औँ मिनेटमा दोस्रो गोल थपेपछि नेदरल्यान्ड्सले खेललाई एकतर्फी बनायो । दोस्रो हाफ सुरू हुनासाथ कोडी गाक्पोले ४७औँ र ५४औँ मिनेटमा लगातार दुई गोल गर्दै अग्रता ४–० पुर्याए । स्वीडेनका एन्टोनी एलाङ्गाले ५९औँ मिनेटमा एक गोल फर्काए पनि त्यसले खेलको लय बदल्न सकेन । अन्त्यतिर क्रिसेन्सियो समरभिलले ८९औँ मिनेटमा पाँचौँ गोल गर्दै नेदरल्यान्ड्सको शानदार जीत पक्का गरे ।
ह्युस्टन स्टेडियममा करिब ६९ हजार समर्थकको उपस्थितिमा भएको यो खेलले समूह ‘एफ’ को समीकरण चाख लाग्दो बनाएको छ । पहिलो खेल जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्सले आजको जीतसँगै चार अङ्कसहित शीर्ष स्थान बनाएको छ । आज राति जापान र ट्युनिसियाबीच हुने नतिजाले समुह चरण पार गर्ने टिमको अनुमान लगाउन सहज हुने देखिन्छ । आजको हारले स्वीडेनका लागि नकआउटमा प्रवेश पाउन जापानविरुद्धको खेल जित्नै पर्ने बनाइदिएको छ ।
आज ह्युस्टनमा भएको खेलअघि नेदरल्यान्ड्सको फ्यान ऱ्याली पनि निकै उल्लेखनीय थियो । ‘अरेञ्ज बस–फ्यान फेस्टिवल’मा प्रयोग भइरहेको अरेन्ज बस र ‘डच’फ्यानहरुले खेलपूर्व नै नेदरल्यान्ड्सको पक्षमा जबर्जस्त माहोल बनाएको थियो । स्टेडियममा आएका दर्शकहरुमध्ये पनि डच फ्यानहरुकै बाहुल्यता थियो ।












प्रतिक्रिया