काठमाडौँ । साबिक विजेता अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकपमा आफ्नो उपाधि रक्षाको अभियान बलियोरूपमा प्रस्तुत गरेको छ।
अमेरिकाको क्यान्सास सिटी रङ्गशालामा भएको खेलमा कप्तान लिओल मेसी जादुमयी ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलले हरायो ।
खेलको सुरुवात निकै रोमाञ्चक रह्यो । सुरुमै मेसी र अल्जेरियाका फारेस चैबी दुवैको गोललाई ‘अफसाइड’ भन्दै रद्द गरिएको थियो । तर, खेलको १७ औँ मिनेटमा रोड्रिगो डे पलको पासमा मेसीले डिबक्स बाहिरबाट उत्कृष्ट ‘कर्लिङ’ प्रहार गर्दै पहिलो गोल गरे ।
दोस्रो हाफमा मेसी झन् आक्रामक देखिए । ६० औँ मिनेटमा म्याक एलिस्टरको प्रहार लुका जिदानले बचाउन खोज्दा फर्किएको बललाई मेसीले दायाँ खुट्टाले प्रहार गर्दै दोस्रो गोल गरे ।
खेलको ७६ औँ मिनेटमा निकोलस गोन्जालेजको पासमा बक्सको छेउबाट बायाँ खुट्टाको ट्रेडमार्क प्रहारमार्फत तेस्रो गोल गर्दै मेसीले आफ्नो विश्वकप करियरको पहिलो ह्याट्रिक पूरा गरे ।
यस ऐतिहासिक खेलमा ३८ वर्षीय मेसीले आधा दर्जन बढी रेकर्डहरू आफ्नो नाममा लेखेका छन् ।
१) विश्वकप इतिहासमै सर्वाधिक गोल (रेकर्ड बराबरी) : यस ह्याट्रिकसँगै मेसीको विश्वकपमा कुल १६ गोल पुगेको छ। उनले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको विश्वकै सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्।
२) ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी : सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६—मेसी फुटबल इतिहासमा ६ वटा फरक विश्वकप संस्करण खेल्ने संसारकै पहिलो र एक मात्र खेलाडी बनेका छन्।
३) अर्जेन्टिनाका लागि २००औँ खेल : यो खेल मेसीको अर्जेन्टिनाको जर्सीमा २००औं अन्तर्राष्ट्रिय खेल थियो। यो आँकडा छुने उनी पहिलो अर्जेन्टिनी खेलाडी हुन्।
४) विश्वकपमा पहिलो ह्याट्रिक : मेसीले आफ्ना धेरै कीर्तिमानहरूबीच विश्वकपमा भने अहिलेसम्म ह्याट्रिक गरेका थिएनन् । ३८ वर्षको उमेरमा उनले आफ्नो करियरको पहिलो विश्वकप ह्याट्रिक दर्ता गरे।
५ं सर्वाधिक विश्वकप खेल : विश्वकपमा आफ्नो २७ औँ खेल खेल्दै उनले सबैभन्दा धेरै विश्वकप खेल खेल्ने आफ्नै रेकर्डलाई अझै मजबुत बनाएका छन् ।
६) साबिक विजेताको रूपमा पहिलो जित : अर्जेन्टिनाको इतिहासमा साबिक विजेताको रूपमा मैदान उत्रिँदा पहिलो खेल जितेको यो पहिलोपटक हो। यसअघि १९८२ र १९९० मा अर्जेन्टिनाले साबिक विजेता भएर खेल्दा पहिलो खेल हारेको थियो ।












प्रतिक्रिया