मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अन्तिम चरणमा

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अन्तिम चरणमा


शेयर गर्नुहोस:

540
Shares

  • change font
  • change font

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा अन्तिम चरणमा पुगेको छ । उक्त मुद्दामा बुधबार सुनुवाइ नसकिएपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले निरन्तर सुनुवाइ गरी चाँडो टुंगोमा पुर्‍याउन ‘हेर्दाहेर्दै’ अवस्थामा राखेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत विभिन्न देशमा पठाउन तत्कालीन मन्त्री, उच्च राजनीतिक नेतृत्वदेखि कर्मचारीसम्मको गठजोड देखिएको दाबीसहित चारवटा अभियोग लगाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

Advertisement

प्रहरी अनुसन्धानपछि सन्दीप रायमाझी समेत ३० जनाविरुद्ध २०८० जेठ २६ गते, केशवप्रसाद दुलालसहित पाँचजनाविरुद्ध २०८१ वैशाख ९ र अर्का आरोपी बेचन झाविरुद्ध २०८१ साउन २९ गते ठगी, लिखत किर्ते र राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले उक्त मुद्दाको सुनुवाइ बिहीबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको जानकारी दिए । उक्त प्रकरणमा अब निरन्तर बहस गराएर जिल्ला तहबाट छिनोफानो गर्ने तयारीमा इजलास देखिएको छ । जरुरी प्रकृतिको आदेश गर्नुपर्ने अवस्था बाहेक मुद्दा किनारा गर्ने तयारी अदालतको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरूसँगै पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, सुरक्षा विज्ञ इन्द्रजित राई, पूर्वसभासद आङ्टावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुत्र प्रतीक थापा, सुरक्षा सल्लाहकार इन्द्रजित राई र राईका छोरा निरज राईलगायतविवरुद्ध मुद्दा चलाइएको छ ।

शरणार्थीको प्रलोभनमा पारी आफूहरूबाट करोडौँ रकम पैसा असुलेर ठगी गरेको बताउँदै २०७९ जेठ १८ गते ८१ जनाको प्रहरी जाहेरी परेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको जाहेरी अनुरुप अनुसन्धान गरी सरकारी वकिलले मुद्दा चलाएको हो ।

उक्त प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारीसहित पाँचजनाविरूद्ध पूरक अभियोग र बेचन झा पक्राउ परेपछि उनीविरूद्ध पनि पूरक अभियोगपत्र दर्ता भएको थियो । दुलाल, भण्डारी र झालगायतविरूद्ध उच्च पदस्थलाई पैसाको चाँजोपाँजो मिलाउन विचौलियाको भूमिकामा रहेको आरोप छ । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजान १३ करोड रूपैयाँ उठाएको दाबीसहित पीडित गजेन्द्र बुढाथोकी, रामकुमार रेग्मी लगायतले ८१ जनाको तर्फबाट जाहेरी दिएका हुन् ।