मुख्य समाचार

विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा

विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताएका छन् ।

‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताए।

Advertisement

‘पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएका नेताको ठूलो पङ्क्ति बाहिर छ, १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरू जो हुनुहुन्न मेरो समितिभित्र, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु’, सभापति थापाले भने।

सभापति थापाले पार्टीको १५औँ महाधिवेशनको मिति तय भएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरुलाई पनि समेट्न आफू तयार रहेको बताए। उनले महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता जाँचबुझ समिति रहेको स्मरण गराउँदै त्यसमा पनि थप सदस्य राख्न आफू तयार रहेको बताए।

अनुशासन समितिको नेतृत्व तारामान गुरुङले गरेको जानकारी दिँदै उनले त्यसमा पनि कतिपय सदस्य समेट्न सकिने बताए। पार्टीभित्रका नेतालाई अवसर दिने विषयमा आफू प्रष्ट रहेको उल्लेख गर्दै सभापति थापाले भने, ‘को विशेष महाधिवेशनबाट आएको हो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा हुँदैन ।’

देशभर रहेका क्रियाशील सदस्यलाई पार्टीको सदस्यता अद्यावधिक गर्नसमेत सभापति थापाले आग्रह गरे।

पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गरे । ठूलो जनसमर्थनका साथ गठन भएको वर्तमान सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्नु चिन्ताजनक विषय भएको उनको भनाइ थियो ।