मुख्य समाचार

कांग्रेसले माग्यो सदनबाट प्रधानमन्त्री बाहिरिनुको जवाफ

कांग्रेसले माग्यो सदनबाट प्रधानमन्त्री बाहिरिनुको जवाफ


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री वालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरू आसनमा उभिएपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका थिए ।

Advertisement

प्रमुख सचेतक थापाले भनिन्, “राष्ट्रपतिज्यूबाट सम्बोधन भइरहेको समयमा प्रधानमन्त्री शाह सदनबाट बाहिरिनु सामान्य विषय नभई गम्भीर विषय हो, यसबारेमा सरकारका तर्फबाट स्पष्ट जवाफ चाहियो ।”

साथै, उनले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरिन् । राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन शाह संसद् बैठक हलबाट बाहिरिएका थिए ।

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम नसक्दै प्रधानमन्त्री बाहिरिएपछि धेरैले सामाजिक सञ्जालमा अस्वाभाविक र अशोभनीय भनेर टिप्पणी गरिरहेका छन् ।

यसअघिका कुनै पनि प्रधानमन्त्रीहरु राष्ट्रपतिले सदनमा बोलिरहँदा सदनबाट बाहिर निस्किएका थिएनन् । प्रधानमन्त्रीले पछिल्लो समयमा न राष्ट्रपतिलाई भेटेका छन्, न त टेलिफोन संवाद नै गरेका छन् ।

यसलाई प्रधानमन्त्रीले राष्ट्रपति पदको गरिमालाई उच्च महत्त्व नदिएको भनेर राजनीतिक वृत्तमा विश्लेषण सुरू भएको छ भने प्रधानमन्त्रीको व्यापक आलोचना भइरहेको छ ।