मुख्य समाचार

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ : राष्ट्रपति


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

“यसका लागि ज्येष्ठ नागरिकले गरेका काम र असल अभ्यासलाई पाठ्यक्रम वा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने व्यवस्था गर्नुपर्छ । साथै शारीरिक रूपमा सक्षम र इच्छुक ज्येष्ठ नागरिकलाई उपयुक्त काममा संलग्न गराई उत्पादनसँग जोड्ने तथा उनीहरूसँग सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक क्रियाकलापमा अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्छ भन्ने म ठान्दछु,” राष्ट्रपति पौडेलले भने।

Advertisement

यसतर्फ दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर अघि बढ्न सरकारलगायत सबैलाई उनले सुझाव दिए ।

राष्ट्रपति पौडेलले नेपालको जनसङ्ख्या पनि बिस्तारै बुढ्यौलीतर्फ उन्मुख भइरहेको उल्लेख गर्दै भने, “युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै रोजगारी दिन चुनौतीहरू छन् । यस्तो अवस्थामा ज्येष्ठ नागरिकको प्रभावकारी र उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशका अनुभवबाट नेपालले पनि सिक्ने अवसर हुनेछ भन्नेमा म विश्वस्त छु ।”

ज्येष्ठ नागरिकलाई स्वास्थ्यकर खाना, उचित पोशाक र आवश्यक अवस्थामा स्वास्थ्य उपचार सेवा पाउनु उनीहरूको अधिकार भएको उनको भनाइ छ।