खेलकुद

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित


शेयर गर्नुहोस:

351
Shares

  • change font
  • change font

काठमाडौँ। एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो।

अमेरिकाले जितको लागि दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले पाँच बल बाँकी रहँदा पूरा गर्‍यो। नेपालको जितमा मयान यादव नायक बने। उनले ८० बलमा ७२ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

Advertisement

उनको इनिङ्समा चार चौका र दुई छक्का समावेश थियो। त्यसअघि नेपालका ओपनर त्रितराज दासले २३ रन बनाउँदा कप्तान अनिल साहले २७ रनको योगदान दिए। देव खनाल १७ रनमा आउट भए पनि सन्दीप जोराले मध्यम क्रम सम्हाल्दै ३६ रन जोडे। कुशल मल्लले ३३ रन बनाए। खेल अन्तिमतिर रोमाञ्चक बनेको अवस्थामा पवन सर्राफले विस्फोटक ब्याटिङ गरे।

उनले १५ बलमा अविजित २४ रन बनाउने क्रममा एक चौका र दुई छक्का प्रहार गरे। दीपक डुम्रे दुई रनमा अविजित रहँदा नेपालले ४९ दशमलव एक ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। अमेरिकाका लागि मिलिन्द कुमारले सर्वाधिक दुई विकेट लिए भने सौरभ नेत्रवलकर, नोस्तुष केन्जिगे, रशिल उगारकर, हरमित सिंह तथा सञ्जय कृष्णमुर्थीले समान एक/एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योगफल बनाएको हो। अमेरिकाका लागि स्मित पटेलले शानदार शतकीय इनिङ्स खेल्दै १०७ बलमा १० चौका र पाँच छक्कासहित ११६ रन बनाए।

त्यस्तै ओपनर शायन जहाँगिर नौ रनमा आउट हुँदा कप्तान मोनाङ्क पटेलले २० रन जोडे । सैतेजा मुक्कामल्लाले १० तथा मिलिन्द कुमारले सात रन बनाए। त्यसपछि शुभम रञ्जानेले १६, सञ्जय कृष्णमुर्थीले १५ तथा शेहान जयसूरियाले सात रनको योगदान दिए। अन्तिमतिर हरमित सिंह २५ र जसदीप सिंह ३३ रनमा अविजित रहँदै टोलीलाई सम्मानजनक योगफलतर्फ पुर्‍याए।

नेपाल ‘ए’ का लागि पवन सर्राफले दुई विकेट लिए भने विपीन खत्री, शाहव आलम, बासिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक/एक विकेट लिए ।