बिजनेस/ इकोनोमी

रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले

रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रूपान्तरणकारी बजेट ल्याइने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि पृष्ठपोषण हुनेगरी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको नीतिगत छलफलमा अर्थमन्त्री वाग्लेले पुरानै शैली र प्रवृत्ति तोडेर रूपान्तरणकारी बजेट ल्याइने स्पष्ट पारे ।

Advertisement

उनले परिणाममुखी र सुधार केन्द्रित बजेट ल्याइने बताए । बजेटबारे आम नागरिकमा रहेको अतिरञ्जना र भ्रमप्रति टिप्पणी गर्दै उनले बजेटलाई सरकारको आय–व्यय व्यवस्थापनको व्यावहारिक दस्ताबेजका रूपमा बुझ्नुपर्ने धारणा राखे ।

उनका अनुसार आगामी बजेट निर्माणका लागि सबै मन्त्रालयलाई राष्ट्रिय स्रोत अनुमान समितिले तोकेको करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभित्रै रहेर योजना बनाउन निर्देशन दिइएको छ । यद्यपि आर्थिक रूपान्तरणका लागि अहिलेको सिलिङ अपर्याप्त रहेको टिप्पणी पनि उनले गरे ।

विगतमा राजस्व क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउने प्रवृत्तिले समस्या निम्त्याएको उल्लेख गर्दै उनले आगामी वर्षका लागि करिब १३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको अनिवार्य दायित्व रहेको र देशको राजस्व क्षमता करिब ११ खर्ब ८० अर्ब रुपैयाँ हाराहारी मात्र रहेको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले यस्तो अवस्थाले अनिवार्य दायित्व धान्नसमेत चुनौती देखिएको उल्लेख गर्दै ऋण परिचालनको आफ्नै दायित्व र सीमाहरू रहेको बताए ।

करिब १९ खर्ब रुपैयाँको बजेटले करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन सक्ने वा नसक्ने प्रश्न महत्त्वपूर्ण रहेकाले विनियोजनको कुशलता र कार्यान्वयन क्षमतामा जोड दिइने उनले बताए ।

सीमित स्रोतका कारण नतिजा नदिने तथा प्रभावहीन कार्यक्रमहरू कटौती गरिने सङ्केत गर्दै उनले सार्वजनिक खर्चलाई रणनीतिक रूपमा बढाएर अर्थतन्त्र चलायमान बनाउने नीति अवलम्बन गरिने बताए ।

साथै सामाजिक क्षेत्रमा लगानीलाई पनि समान प्राथमिकता दिइने उनको भनाइ थियो । सीमित स्रोत साधनकाबीच पनि सुशासन, सहज सेवा प्रवाह, रोजगारी सिर्जनालगायत विषयलाई केन्द्रमा राखेर आर्थिक राजकाजको जहाज मोड्ने गरी बजेट ल्याइने उनको भनाइ छ ।

राजस्व परिचालन सुदृढ गर्न कर सुधारलाई प्राथमिकतामा राखिने उल्लेख गर्दै उनले विद्यमान कर दर अव्यावहारिक भएको गुनासोप्रति सरकार संवेदनशील रहेको बताए ।

आयकर र भन्सार दर उच्च भएको विषयमा पुनरावलोकन गरिने र करको बोझ घटाएर खपत वृद्धि गर्ने लक्ष्यका साथ बजेट तयारी भइरहेको उनले स्पष्ट पारे । ‘कर घट्दा राजस्व घट्छ भन्ने परम्परागत सोचमा सरकार छैन’, उनले भने ।

बजेट निर्माणमा सत्तारुढ दलको चुनावी घोषणापत्रलाई मार्गदर्शक बनाइने स्पष्ट पार्दै उनले मध्यम वर्ग तथा उद्यमी व्यवसायीको सुरक्षालाई केन्द्रमा राखिने बताए । खर्च गर्ने क्षमताको कमजोरीका कारण विदेशी अनुदान घट्दै गएको उल्लेख गर्दै उनले कार्यान्वयन क्षमता अभिवृद्धिमा सरकार केन्द्रित रहेको जानकारी दिए ।

रुग्ण बनेका आयोजना, शक्ति र पहुँचका आधारमा बजेटमा समावेश भएका योजना तथा नतिजा नदिने कार्यक्रमहरूलाई बजेटबाट हटाइने सङ्केत पनि अर्थमन्त्री वाग्लेले गरेका छन् । ‘आसेपासे पुँजीवाद झल्किने कार्यक्रम कटौती गरी सुशासनको सन्देश दिनुपर्छ’, उनले भने ।

निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख संवाहकका रूपमा चित्रण गर्दै उनले इमानदार व्यवसायीलाई डराउनुपर्ने अवस्था नरहेको तर व्यवसायको नाममा अनियमितता गर्नेप्रति सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए । लगानीमैत्री वातावरण निर्माणका लागि अव्यवहारिक कानुन संशोधन तथा नयाँ कानुन निर्माण गरिने पनि उनले बताए ।

अर्थमन्त्री वाग्लेले आर्थिक वृद्धिदर वृद्धि र रोजगारी सिर्जनालाई बजेटको मूल लक्ष्य बनाइने उल्लेख गर्दै करिब सात प्रतिशतको आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी भए पनि सम्भव रहेको दाबी गरे ।

जलविद्युत्, खनिज, पूर्वाधार कनेक्टिभिटी, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिने तथा प्रवासी नेपाली (डायस्पोरा)को लगानी आकर्षित गर्ने नीति अवलम्बन गरिने पनि उनले जानकारी दिए ।