राजनीति-समाज

बालेनले दिएनन् अमेरिकी सहायक विदेशमन्त्री कपूरलाई भेट्ने समय

बालेनले दिएनन् अमेरिकी सहायक विदेशमन्त्री कपूरलाई भेट्ने समय


शेयर गर्नुहोस:

1.6k
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरलाई भेट दिएका छैनन् ।

अमेरिकी सहायक विदेशमन्त्री कपूरको आज नेपाल भ्रमण सम्पन्न भएको छ । भ्रमणका क्रममा कपूरले उच्चस्तरीय भेटवार्ता गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेट गरे पनि कपुरले प्रधानमन्त्री शाहसँग भने भेट गर्न पाएनन् । नेपालस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमा राखेको तस्बिर र पोस्टमा प्रधानमन्त्री शाहसँगको भेट भएको वा नभएको कुनै विषय खुलाएको छैन ।

Advertisement

सहायक विदेशमन्त्री कपूरले नेपाल–अमेरिका साझेदारी सुदृढ गर्ने र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यसअघि, कुनै पनि विदेश प्रतिनिधि मण्डल तथा व्यक्ति आउँदा प्रधानमन्त्रीलाई बालुवाटार वा सिंहदरबारमा पुगेर भेट गर्ने गर्दथे ।

नेपाल भ्रमणका क्रममा कपुरले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

भारतीय मूलका अमेरिकी सहायक विदेशमन्त्री कपुर वैशाख ७ गते काठमाडौं आएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाह नेतृत्वको सरकार बनेपछि कपुर काठमाडौँ आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् । कपुर यसअघि बंगलादेशमा पनि नयाँ सरकार गठनलगत्तै पुगेका थिए । गत मार्चमा गएका कपूरले अन्य मन्त्रीहरुलाई भेटे पनि प्रधानमन्त्री तारिक रहमानलाई भने भेटेका थिएनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ अक्टोबरमा दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुकलाई हटाएर सुरक्षा मामिला विज्ञ कपुरलाई नियुक्त गरेका थिए ।