बेइजिङ । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा देखिएको अनिश्चितताबीच रुसले चीनको सम्भावित ऊर्जा अभाव पूर्ति गर्न सक्ने स्पष्ट संकेत दिएको छ ।
विशेषगरी होर्मुज जलडमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि उत्पन्न परिस्थितिमा मस्कोले आफूलाई वैकल्पिक आपूर्तिकर्ताका रुपमा प्रस्तुत गरेको हो ।
रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो देश चीनसहित सहकार्य गर्न इच्छुक अन्य राष्ट्रहरूको ऊर्जा आवश्यकतामा देखिन सक्ने कमी पूर्ति गर्न सक्षम रहेको बताए ।
होर्मुज क्षेत्रको अवरोधका कारण ऊर्जा आपूर्ति प्रभावित हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले रुससँग पर्याप्त स्रोत रहेको उल्लेख गरे ।
यसै सन्दर्भमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चालु वर्षको पहिलो अर्धवार्षिकभित्र चीनको भ्रमण गर्ने तयारी रहेको जानकारी दिए ।
मस्कोस्थित राज्य समाचार एजेन्सी तासका अनुसार उक्त भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी प्रतिबन्धका कारण मस्को र बेइजिङबीचको आर्थिक तथा राजनीतिक सहकार्य उल्लेखनीय रूपमा गहिरिएको छ। पछिल्ला वर्षहरूमा ऊर्जा, व्यापार र कूटनीतिमा दुवै देशबीचको समन्वय तीव्र बन्दै गएको देखिन्छ ।
चीनको दुई दिने भ्रमणका क्रममा लाभरोभले राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए। उक्त भेटपछि उनले रुस–चीन सम्बन्धलाई ‘कुनै पनि चुनौतीको सामना गर्न सक्षम र स्थिर’ भएको उल्लेख गरेका थिए ।
साथै, यी सम्बन्धहरूले अन्तर्राष्ट्रिय मामिलामा स्थायित्व ल्याउने भूमिका खेलिरहेको र विश्वव्यापी रुपमा यसको महत्त्व बढ्दै गएको पनि उनको भनाइ थियो ।
उनका अनुसार विश्वका धेरै देशहरू अस्थिरता वा द्वन्द्वभन्दा शान्ति र सहकार्य चाहन्छन् र यस्तो सन्दर्भमा रुस चीन सहकार्यले सन्तुलन कायम गर्न मद्दत पुर्याइरहेको छ ।
लाभरोभको यो भ्रमण त्यस्तो समयमा भएको हो जतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङले एकै साता विभिन्न देशका उच्चस्तरीय नेतासँग भेटघाट गरिरहेका छन्। तीमध्ये भियतनामका नेता टो लाम र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पनि रहेका छन् । एजेन्सी












प्रतिक्रिया