काठमाडौँ । काठमाडौँ महानगरपालिका र वीर अस्पताल बीच महिलामा स्तन तथा पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि सम्झौता भएको छ।
आज कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा महानगरको स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
महानगरले क्यान्सरको समयमै पहिचान र नियन्त्रणका लागि कार्यक्रम अघि बढाएको जनाएको छ। कार्यवाहक प्रमुख डंगोलले सेवाग्राही महिलालाई सहज पहुँच हुने गरी समय तालिका मिलाउन, कुर्नु नपर्ने व्यवस्था गर्न तथा अपाङ्गता भएका महिलाका लागि विशेष सुविधा सुनिश्चित गर्न निर्देशन दिए।
अस्पतालका निर्देशक डा. शर्माले लक्षण नदेखिए पनि नियमित परीक्षण आवश्यक रहेको बताउँदै कार्यक्रमलाई प्रभावकारी बनाइने जानकारी दिए।
स्वास्थ्य विभागका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिला, अघिल्लो वर्ष छुट भएका तथा पोजेटिभ देखिएका महिलालाई प्राथमिकतामा राखिएको छ। परीक्षण चैत १६ गतेदेखि सुरु हुने र दैनिक १०० देखि १२० जनासम्म परीक्षण गरिनेछ।
कार्यक्रमअन्तर्गत स्तनको क्लिनिकल जाँच, आवश्यक परे अल्ट्रासाउन्ड र मेमोग्राफी तथा पाठेघरको मुखको क्यान्सरका लागि एचपीभी डीएनए परीक्षण गरिनेछ। पोजेटिभ देखिएमा थप परीक्षण र उपचारको व्यवस्था गरिने महानगरले जनाएको छ।












प्रतिक्रिया