अमेरिका, बोस्टन। म्यासाच्युसेट्स राज्यको बोस्टनमा प्रवासी नेपालीहरुकाबीच खुला ब्याडमिन्टन प्रतियोगिता गरिने भएको छ। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, (एनआरएनए), म्यासाच्युसेट्स च्याप्टरले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रवासी नेपाली युवा तथा बालबालिकाहरुलाई शारीरिक तथा मानसिक विकासको महत्वपूर्ण पाटो खेलकुद तथा शारीरिक व्यायाममा आकर्षित गर्ने, सक्रिय बनाउने, प्रतिभाहरु प्रस्फुटन गर्ने अवसर जुटाइदिने, प्रतिभाहरुको पहिचान गर्ने र थप सक्रिय रहन प्रोत्साहन गर्ने मुख्य उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ।
एनआरएनए, म्यासाच्युसेट्स च्याप्टर अध्यक्ष खुम गुरुङ(राजु)ले जानकारी दिए अनुसार उक्त प्रतियोगिता यही आउदो मार्च २९,२०२६ आइतवारका दिन 47 Elm st. Everett, MA-02149 मा आयोजना गरिने भएको छ। प्रतियोगितामा महिला-महिला खेलाडीहरुकाबीच र पुरुष-पुरुष खेलाडीकाबीच प्रतिस्पर्धा गराइने छ।
आयोजकका अनुसार प्रतियोगितामा भाग लिनका लागि इच्छुक खेलाडीहरुले अनलाइनमार्फत आफ्नो नाम दर्ता गर्न सक्ने छन्। प्रत्यक खेलाडीले प्रतिस्पर्धामा भाग लिनका लागि २५ डलर दर्ता शुल्क तिर्नुपर्ने छ।नाम दर्ता खुला भइसकेको र हालसम्म ८० जनाले आफ्नो नाम दर्ता गरिसकेको अध्यक्ष गुरुङले जानकारी दिए। नाम दर्ताका लागि अझैं २ दिन बाँकी भएकाले खेलाडीहरुको संख्या एक सय हाराहारी पुग्ने उनको अपेक्षा छ। अध्यक्ष गुरुङले इच्छुक खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन, नेपाली समुदायलाई प्रतियोगिता अवलोकन गरी मनोरञ्जन लिन र खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्नका लागि खेल मैदानमा उपस्थित भइदिन अनुरोधसमेत गरेका छन्।
प्रतियोगितामा नगद पुरस्कार, प्रमाणपत्र र ट्रफीको समेत व्यवस्था गरिएको छ। अध्यक्ष गुरुङका अनुसार पुरुष तर्फको प्रतियोगितामा प्रथम हुनेलाई एकहजार डलर, दोश्रो हुनेलाई पाँच सय डलर, तेश्रो हुनेलाई तीन सय डलर र चौथो हुनेलाई दुइ सय डलर नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ। त्यसैगरी महिलातर्फ, प्रथम हुनेलाई पाँच सय डलर, दोश्रो हुनेलाई तीन सय डलर, तेश्रो हुनेलाई दुइ सय डलर र सान्त्वना पुरस्कार एक सय डलर नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ।












प्रतिक्रिया