काठमाडौँ,। स्वदेशीय मौलिक ज्ञान परम्पराको पुनर्जागरणमार्फत मौलिक राज्यव्यवस्था निर्माण गर्ने लक्ष्यका साथ ‘स्वदेशवादी अभियान’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहबीच रैथाने, वैदिक र बौद्ध ज्ञान पद्धतिको एकीकरण गर्दै नेपाललाई आयातित राजनीतिक एवं वैचारिक परनिर्भरताबाट मुक्त गराउने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो ।
घोषणासभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका प्रमुख डा. वासुदेव कृष्ण शास्त्रीले करिब तीन हजार वर्षअघि महर्षि याज्ञवल्क्यले स्थापना गर्नुभएको राजनीतिक गुरुकुलको परम्परालाई पुनर्जीवित गरिएको बताउनुभयो । उहाँले सनातन प्रज्ञा र मौलिक चिन्तनको जगमा मात्रै देशमा दीर्घकालीन राजनीतिक स्थायित्व र सुशासन सम्भव हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक सौरभले वर्तमान राजनीतिक दलहरू वैचारिक रूपमा दिशाहीन भएको टिप्पणी गर्दै स्वदेशवादी चिन्तनलाई मूल राजनीतिक मुद्दा बनाएर देशव्यापी रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यस्तै, अभियानका संयोजक सूर्य माखिमले अवधारणा पत्र प्रस्तुत गर्दै स्वदेशीय ज्ञानसत्तामा आधारित स्वशासन, स्वराज, आत्मनिर्भर अर्थतन्त्र र राष्ट्रिय सार्वभौमिकता नै अभियानका मुख्य स्तम्भ भएको स्पष्ट पार्नुभयो ।
नेपाली समाजमा व्याप्त दार्शनिक र नैतिक सङ्क्रमण, युवा पलायन र कमजोर कूटनीतिक अवस्थालाई सम्बोधन गर्न अभियानले जनजागरण र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आगामी दिनमा ‘पशुपति संवाद’ तथा देशव्यापी संवाद पदयात्रामार्फत आम नागरिकसँग अन्तरक्रिया गर्दै अभियानलाई अगाडि बढाइने घोषणा गरिएको छ ।












प्रतिक्रिया