मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

ईश्वर पोखरेललाई भारी मतले पराजित गर्दै एमाले अध्यक्षमा ओली विजयी

ईश्वर पोखरेललाई भारी मतले पराजित गर्दै एमाले अध्यक्षमा ओली विजयी


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका हुन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे ।

Advertisement

यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी भएका छन् भने उनको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् ।

यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मतका साथ विजयी भए ।

यस्तै, सचिवमा महेश बस्नेतले १५४४ मत, छविलाल विश्वकर्माले १५०६ मत, पद्माकुमारी अर्यालले १५३० मत , शेरधन राईले १५०३ मत, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भए ।

ओलीको सङ्घर्षपूर्ण राजनीतिक यात्रा

एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारु, सङ्घर्षशील एवम् जेलनेल भोगेको नेताका रुपमा स्थापित छन् । यसैगरी अध्ययनशील, निर्णयमा अडिग र आफूलाई विश्वास गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकलाई साथ–सहयोगसहित यथाशक्य संरक्षण गर्न कन्जुस्याइँ नगर्ने नेताका रुपमा चिनिन्छन् ।

एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसकेका नेता ओली काठमाडौँमा सम्पन्न ११ औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९ मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भए ।

झापा विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जेलनेलसहित अनेकौँ आरोहअवरोह झेलेर मुलुकको राजनीतिक केन्द्रमा रहन सफल अध्यक्ष ओलीले तीनपटक देशको नेतृत्व गरिसकेका छन् ।

पछिल्लो पटक २०८१ असार ३१ मा नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटकका लागि मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

गत मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरू भएको ११औँ महाधिवेसनमा पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको आवाज उठे पनि देश र प्रदेशबाट छानिएर आएका महाविेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै नेतृत्वको जिम्मेवारी सुम्पेका छन् । विघटित प्रतिनिधिसभामा दोस्रो ठूलो दलका रुपमा रहेको एमालेलाई विशेषगरी जेन्जी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना, परिघटनाबीच नेतृत्व गर्ने चुनौती ओलीसमक्ष रहेको छ ।

अध्यक्ष ओली विसं २०७१ साउन १ गते काठमाडौँमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी २०७८ मङ्सिर दोस्रो साता चितवनको सौराहामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्ष भएका थिए ।

समृद्धि, विकास र राष्ट्रियताका पक्षमा स्पष्ट अडान राख्ने नेताका रुपमा छवि कमाएका अध्यक्ष ओली आत्मविश्वाससहित हठी नेताका रुपमा चिनिन्छन् ।

नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए । यसैगरी, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उनी दोस्रोपटक सरकारको नेतृत्वमा पुगेका थिए ।

विसं २०७५ जेठ ३ मा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापछि पहिलो वरियताको अध्यक्ष भएका उनी पार्टीभित्रको विवाद तथा विभाजनबीच संसद् विघटन गर्ने उनको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि सरकारबाट बर्हिगमन भएका थिए ।

निम्नमध्यम् वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमायाका सुपुत्र पूर्वप्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटक–पटक कठोर यातना भोग्ने नेता हुन् । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ मा जन्मिएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुगेका थिए । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओली आफ्नो बाल्यकालमा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेको अहिले पनि स्मरण गर्ने गर्छन् ।

तेह्रथुम छोडेर २०२० सालमा उनको परिवार झापा बसाइँ सर्‍यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तरघुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्थामै समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरूको उत्तर खोज्नतिर केन्द्रित भए ।

अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका पक्षमा भएका आन्दोलनमा सदैव उनी नेतृत्वदायी भूमिकामा छन् ।

अध्यक्ष ओलीले लोकतान्त्रिक संरचनाहरूको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यताप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलितरूपमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुन् ।

पन्ध्र वर्षको किशोर उमेरमा २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको मार्क्सवादी अध्ययन दलमा सामेल भएका थिए । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो ।

मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । कम्प्युनिस्ट आन्दोलनमा होमिएका ओली २०२६ सालमा पहिलोपटक पञ्चायती सरकारको गिरफ्तारीमा परेका थिए ।

पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरू २०३० सालमा पक्राउ पर्नुभएको थियो । त्यसपछि चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन ओलीले बिताएका छन् ।

अध्यक्ष ओली जेलमा रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिस् पार्टी (माले)को संस्थापक र २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकबाट उनी केन्द्रीय सदस्य भए । यसैगरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी सम्हाले ।

नेकपा (माले)समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष भए ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी)बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य भए ।

बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा झापा निर्वाचन क्षेत्र नं–६ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित ओली २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा क्षेत्र नं–२ बाट प्रतिनिधिसभा सदस्य भए । यसैबीच, पार्टी जिम्मेवारीका क्रममा पोलिटब्युरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारी उनले सम्हाले । पछि उनी उपप्रधानमन्त्री र परराष्ट्र पनि बने ।

बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको प्रथम जननिर्वाचित कम्युनिस्ट सरकारमा उनी पहिलोपटक मुलुकको गृहमन्त्री भए ।

शेयर गर्नुहोस:

243
Shares