अमेरिका, बोस्टन। नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समितिको अधिवेशन आगामी पौष १५, २०८२ भित्र गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेसका कार्यवाहक सभापतपि पूर्णबहादुर खड्काको सभापतित्वमा मङ्सिर १५ गते सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
देशमा जेनजी आन्दोलनपछि उब्जिएको विशेष परिस्थिति र पार्टीको महाधिवेशनलाई बैठकको प्रमुख एजेण्डा बनाएर गत असोज २८ बाट नेका पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको थियो। नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद भएका कारण बैठक अनिर्णको बन्दी बनिरहेको थियो। अन्ततः मङ्सिर १५ गते नियमित महाधिवेशन गर्ने सहमति जुटेपछि बैठकले निकास पाएको हो।
बैठकले पार्टीको विधान अनुसार सबै संरचनाहरुको म्याद आगामी माघ मसान्तसम्म बढाउदै आगामी पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ। यस निर्णयसंगै विभिन्न मुलुकमा रहेको आफ्नो पार्टी संरचना ‘नेपाली जनसम्पर्क समिति’ को पनि अधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले निर्धारित समयमा पार्टीको महाधिवेशन सम्पन्न गर्न कार्यतालिकासहित विभिन्न निर्णयहरु गरेको छ। जसले नेपाली जनसम्पर्क समितिको अधिवेशन आगामी पौष १५, २०८२ भित्र सम्पन्न गर्न निर्देशित गरेको छ।
निर्णयार्थ प्रस्तुत गरिएको कार्यतालिका अनुसार सम्बन्धित नेपाली जनसम्पर्क समितिहरुले यही मङ्सिर मसान्तभित्र क्रियाशील सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको सम्पूर्ण कार्य सम्पन्न गरिसक्नु पर्ने छ। त्यसैगरी, पौष ३ गतेभित्र नयाँ क्रियाशील सदस्यता र नविकरणको अन्तिम नामावली पार्टीको केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्ने र पौष ५ गते
भित्र उक्त नामावलीलाई स्विकृत गरिसक्नु पर्ने समय सिमा तोकिएको छ।

नेका केन्द्रीय समितिको बैठकले १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गर्ने गरी वडा अधिवेशन पुस १६, गाँउ/नगरपालिका अधिवेशन पौष १७ , प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको पौष २१, एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाहरुको अधिवेशन पौष २१, एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन पौष २२ र प्रदेश अधिवेशन पौष २३ र २४ गते गर्ने समेत निर्णय गरेको छ ।
यस सम्बन्धमा नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द बिष्टले पार्टीको निर्णय अनुसार अधिवेशन गरिने बताए। उनले पार्टी निर्णयलाई स्वागत र स्विकार गर्दै नेपाली जनसम्पर्क समिति, अमेरिका अधिवेशनको तयारीमा जिटिसकेको बताए। ‘समय निकै कम छ। तर, निर्धारित समय अवधिभित्र अधिवेशन सम्पन्न गर्नुको विकल्प छैन। त्यसैले, हामी अधिवेशनको तयारीमा जुटिसकेका छौं’ सभापति बिष्टले भने। पार्टीले आगामी पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने गरी गरेको निर्णयको स्वागत गर्दै उनले आज भोलीभित्रै समितिको बैठक बसी अधिवेशन सम्पन्न गर्ने कार्यलाई थप तिब्रता दिइने बताए। बिष्टले अधिवेशन सफल बनाउन आआफ्नो ठाँउबाट सक्दो सहयोगी भूमिका निर्वाह गरिदिन सरोकारवाला सबैलाई अनुरोधसमेत गरेका छन्।
संस्थामा हाल नेपाली नागरिकता कायम रहेका (अमेरिकाको नागरिकता नलिएका) र अमेरिकाको नागरिकता लिएका गरी दुइ प्रकृतिका सदस्यहरु रहेका छन्। नेपाली नागरिकता कायम रहेका सदस्यहरुले मात्र नेपाली काँग्रेसको महाधिवेशन प्रक्रियामा भाग लिन पाउने छन् भने नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनमा दुबै प्रकृतिका सदस्यहरुले सहभागिता जनाउन पाउने छन्।
बिष्टले दिएको जानकारी अनुसार संस्थाको आगामी हुने अधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ।












प्रतिक्रिया