मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा उमेदवारी घोषणा

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा उमेदवारी घोषणा


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उमेदवार बन्ने घोषणा गरेका छन् ।

मंगलबार एक वक्तव्य जारी गर्दै उनले पार्टी निर्माणमा गरेको योगदानको आधारमा महाधिवेशनमा अध्यक्ष पदको उमेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा आफू पुगेको भन्दै उमेदवारी घोषणा गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले वक्तव्यमा भनेका छन्, “पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ ।”

उनले पार्टीका नेता तथा कार्यकर्ताको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनका लागि यही मङ्सिर १३ गते देश तथा प्रवासमा महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । उनले प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ, मर्यादित र निर्भयका साथ सक्रिय सहभागी हुन पार्टी सदस्यलाई आह्वानसमेत गरेका छन् ।

पार्टीको रक्षामार्फत राष्ट्र र नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु सबैको साझा दायित्व रहेको भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्तरिक लोकतन्त्र समृद्ध भएकोे पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्न सक्नेसमेत बताए ।

उनले महाधिवेशनसमक्ष प्रस्तुत गर्ने आफ्नो राजनीतिक तथा साङ्गठानिक दृष्टिकोणको विस्तारित दस्तावेज निकट भविष्यमा सार्वजनिक गर्ने पनि उल्लेख गरेका छन् ।

शेयर गर्नुहोस:

216
Shares