विश्वभरको इन्टरनेट ढाँचा सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने क्लाउडफेयर मर्मतसम्भारका क्रममा ठूलो अवरोध आएपछि करिब ७५ लाखभन्दा बढी वेबसाइट र एप्लिकेशन एकैपटक प्रभावित भएका छन्। कम्पनीले मंगलबार साँझ करिब ५:१५ बजे सेवा अवरुद्ध भएको पुष्टि गरेको हो। यस अवरोधका कारण सामाजिक सञ्जाल एक्स, कृत्रिम बुद्धिमत्ता सेवा च्याटजिपीटी, तथा हजारौँ वेबसेवा चल्न नसक्ने अवस्था सिर्जना भयो।
क्लाउडफेयरमा समस्या आएलगत्तै, सामान्यतया सर्भर डाउनको स्थिति देखाइदिने वेबसाइटसमेत चल्न सकेनन्। “डाउन डिरेकट्टर” जस्ता सेवा प्रदायकहरू समेत बन्द हुँदा प्रयोगकर्ताले समस्याको यथार्थ बुझ्नसमेत कठिन भयो। विश्वभरका वेबसाइटहरू द्रुत र सुरक्षित रूपमा चलाउन सहयोग गर्ने क्लाउडफेयरमै समस्या देखिएपछि, प्रयोगकर्ताहरूले ठूलो अवरोध भोग्नुपर्यो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, अवरोधका कारण ४३ प्रतिशत प्रयोगकर्ताले पोस्ट हेर्न नसक्ने, २३ प्रतिशतले वेबसाइट खोल्न नसक्ने, र २४ प्रतिशतलाई वेब–कनेक्शन नै स्थापना गर्न नसक्ने समस्या देखिएको छ। विशेषगरी एक्सका प्रयोगकर्ताले आफ्नो टाइमलाइन खोल्न, पोस्ट हेर्न वा नयाँ सामग्री लोड गर्न निकै कठिनाइ भोगे।
क्लाउडफेयरले समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको र सेवा बिस्तारै सुचारु हुँदै गएको जनाएको छ। तर सम्पूर्ण प्रणाली पूर्ण रूपमा स्थिर हुन अझ केही समय लाग्ने अनुमान गरिएको छ। यस घटनाले विश्वभरका प्रयोगकर्तालाई एकैपटक ठूलो प्रभाव पारेको छ र क्लाउड–आधारित सेवामा निर्भरता तथा जोखिम व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ।












प्रतिक्रिया