ग्वाङझाउ । चीनको एक चिकित्सा टोलीले फाइभजी प्रविधि जडित रोबोटको प्रयोग गरी करिब चार हजार किलोमिटर टाढा रहेका बिरामीको आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । यसले दूरदराजका क्षेत्रमा समेत विशेषज्ञ चिकित्सा सेवा पुर्याउन सकिने सम्भावना देखाएको छ ।
उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा दक्षिणी सहर ग्वाङझाउका शल्यचिकित्सकहरूले रोबोटिक हातलाई टाढैबाट नियन्त्रण गरेर आँखाको शल्यक्रिया गरेका हुन् ।
माइक्रोन(स्तरको सटीकताका साथ गरिएको यो शल्यक्रियालाई प्रविधिको उपयोग गर्दै विकसित तटीय क्षेत्र र दुर्गम क्षेत्रहरूबीचको चिकित्सा स्रोतको खाडललाई कम गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम मानिएको छ । उरुम्कीमा रोबोटले बिरामीको आँखामा माइक्रोस्कोपिक सुई राखेपछि, ग्वाङझाउका शल्यचिकित्सकहरूले रिमोट कन्ट्रोलको सहायतामा सुईलाई रेटिनाको सतहमा पुर्याएर पूर्वनिर्धारित गहिराइमा इन्जेक्सनमार्फत् औषधि दिएका थिए ।
टाढाबाट उपकरणको सहयोगमा गरिएको सम्पूर्ण शल्यक्रियाका लागि सात मिनेटभन्दा कम समय लागेको बताइएको छ। शल्यक्रियाका क्रममा नेटवर्क स्थिर रहेकाले रोबोटले कुनै कम्पनबिना सजिलैसँग काम गरेको थियो । ‘सवरेटिनल इन्जेक्सन’ एक नाजुक माइक्रोसर्जिकल प्रविधि हो जुन ‘सबम्याकुलर हेमोरेज’ जस्ता दृष्टिविहीनता निम्त्याउने समस्याहरूमा दृष्टि बचाउन प्रयोग गरिन्छ ।
सन यात(सेन विश्वविद्यालयको झोङशान आँखा उपचार केन्द्रका परियोजना प्रमुख लिन हाओटियनले भने, “यो क्लिनिकल शल्यक्रिया चीनमा रिमोटद्वारा आँखाको शल्यक्रियाको सफल उपचारको सम्भाव्यताको व्यावहारिकतामा एक महत्त्वपूर्ण फड्को हो ।” एएफपी












प्रतिक्रिया