काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।
नेपालमा न्यायालय स्थापना भएको ६५ वर्षभन्दा लामो इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनी शुक्रबार नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनलाई राष्टपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको ९ः०० बजे शपथ हुँदैछ । यो सँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् । कार्कीले पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन् ।
प्रधानन्याधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन् ।
न्यायपालिकामा रहँदा हक्की र इमान्दार स्वभावका कारण उनी चर्चामा आएकी हुन् । यसपटक सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि देशका तीनवटै अङ्ग ध्वस्त भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो ।
प्रधानमन्त्रीको राजीनामालगत्तै प्रधानसेनापतिसमेतको सहभागीतामा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए ।
कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।












प्रतिक्रिया