अमेरिका, बोस्टन। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले आगामी कार्यकाल(सन् २०२५-२७) का लागि नयाँ कार्यसमिति चयन गर्ने भएको छ। संस्थाको विधान अनुसार, वर्तमान कार्यसमितिको दुइ वर्षीय कार्यकाल(२०२३-२५) समाप्त हुनैलाग्दा नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढाइएको हो।
निर्वाचन कार्य सम्पन्न गर्नका लागि संस्थाको कार्यसमितिका पूर्व अध्यक्ष बिष्णु कार्कीको संयोजकत्वमा डा.उषा शर्मा र प्रकाश अधिकारी सदस्य रहेको निर्वाचन समिति गठन गरेर जिम्मेवारी सुम्पिसकिएको छ। गठित निर्वाचन समितिले यही आउदो सेप्टेम्बर १४,२०२५ आइतवार गर्न लागिएको प्याब्फोनको वार्षिक साधारण सभाको साइत पारेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
निर्वाचन समितिका अनुसार संस्थाको संशोधित विधान २०१९ को दफा ८.८ अनुसार कार्यसमितिको अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र १७ सदस्य पदहरुमा निर्वाचन हुनेछ। निर्वाचन समितिले अध्यक्ष पदका लागि तीन सय डलर, प्रथम, दुतीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता पदका लागि २५० डलर र सदस्य पदका लागि १५० डलर दस्तुर तोकेको छ।
सार्वजनिक गरिएको कार्यतालिका अनुसार सेप्टेम्बर १२,२०२५ साँझ ६:०० बजेपछि मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरिने, सेप्टेम्बर १३,२०२५ शनिवार दिनको ३:०० बजेदेखि ६:०० बजेसम्म उमेदवारी दर्ता गर्न सकिने, सेप्टेम्बर १३ शनिवार साँझ ६:३० बजे उमेदवारहरुको नामावली प्रकाशित गरिने, सेप्टेम्बर १३, २०२५ शनिवार साँझ ६:३० बजेदेखि सेप्टेम्बर १४, २०२५ आइतवार बिहान १०:०० बजेसम्म उमेदवारहरुको नामावली माथि दावी विरोध तथा उमेदवारीहरुले आफ्नो उमेदवारी फिर्ता गर्न सक्ने, सेप्टेम्बर १४, २०२५ बिहान ११:०० बजे उमेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने, सेप्टेम्बर १४, २०२५ आइतवार दिनको ३:०० बजेदेखि साँझ ५:०० बजेसम्म मतदान गर्न सकिने र सेप्टेम्बर १४, २०२५ आइतबार मतदान कार्य सम्पन्न पश्चात् मतगणना गरी मत परिणाम घोषणा गरिने छ। निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरु प्याब्फोन भवनमा रहेको निर्वाचन समितिको कार्यालयबाट हुने जनाइएको छ।
अध्यक्ष पदका लागि श्रेष्ठले गरिन् उमेदवारी दिने घोषणा
आगामी सेप्टेम्बर १४, २०२५ आइतवार हुने निर्वाचनमा यलीना श्रेष्ठले प्याब्फोनको आगामी कार्यकाल(२०२५-२७) का लागि अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी छिन्। वर्तमान कार्यसमितिमा रहेर वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी श्रेष्ठले आफू संस्थाको बागडोर सम्हाल्न योग्य रहेको जनाउदै अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी छिन्। उनले आफ्नो भनाइ सहित गत सेप्टेम्बर ८, २०२५ सोमवार सामाजिक सञ्जाल मार्फत अध्यक्ष पदका लागि आफूले उमेदवारी दिने घोषणा गरेकी हुन्। यो समाचार तयार पार्दासम्म उनि बाहेक अरु कसैले आधिकारिक उमेदवारी घोषणा गरेका छैनन्।
प्याव्फोनले आफ्नो संस्थागत उद्देश्यहरु पुरा गर्नका लागि विधानमा कार्यकारी समिति र बोर्ड अफ ट्रष्टीज गरी दुइ समिति रहने व्यवस्था गरेको छ। सोही बमोजिम नियमित कार्य सञ्चालनको भूमिकाका लागि गठन गरिने कार्यसमितिको निर्वाचन आगामी १४,२०२५ मा निर्वाचन गर्न लागिएको हो। संस्थाको विधान अनुसार हरेक दुइ वर्षमा निर्वाचन प्रक्रिया मार्फत नयाँ कार्यसमिति चयन गर्नु पर्दछ।












प्रतिक्रिया