चितवन । रत्ननगर नगरपालिका र भरतपुर अस्पतालबीच गरिब तथा विपन्न नागरिकको उपचार सहायतासम्बन्धी सम्झौता भएको छ ।
नगरभित्र अलपत्र परेका, गरिब तथा विपन्न नागरिकलाई रोगको निदान तथा औषधि उपचारमा सहयोग गर्ने उद्देश्यले नगरप्रमुख प्रलाद सापकोटा र भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलबीच स्वास्थ्य उपचारसेवा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
रत्ननगर नगरपालिकाको नगरसभाबाट आर्थिक वर्ष २०८२–०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार चितवन जिल्लाभित्र रहेका अलपत्र गरिब तथा विपन्न नगरवासीको रोगको निदान तथा औषधि उपचारको कार्यक्रम कार्यान्वयनका लागि सो सम्झौता भएको हो ।
सम्झौताअनुसार प्रथम पक्ष (नगरपालिका)ले उपचारका लागि पठाउँदा नगरप्रमुख, कार्यवाहक नगरप्रमुख वा दुवैको अनुपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतले गरिब तथा विपन्न बिरामीको सिफारिससहित पठाउनपर्ने सर्त राखिएको छ ।
नगरपालिकाले प्रमाणित गरेको सिफारिसबमोजिम न्यूनतम एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म उपचारमा छूट हुनेछ । भरतपुर अस्पतालले सिफारिस भइआएका बिरामीलाई अस्पतालमा भएसम्मका छूट उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ । बिमा नगरेका, बिमा रकम सकिएका तथा सरकारका अन्य निःशुल्क कार्यक्रममा नसमेटिएका नागरिकहरुले यो सुविधा प्राप्त गर्नेछन् ।
सम्झौतामा दोस्रो पक्ष अर्थात भरतपुर अस्पतालले उपचार सेवा प्राप्त गरेका हरेक बिरामीको छुट्टाछुट्टै विद्युतीय अभिलेख राख्ने छ । यसरी बिरामीले प्राप्त गरेको उपचार सेवाको विवरणसहित अस्पतालले त्रैमासिकरुपमा माग गर्न सक्नेछ । र, सोही मागबमोजिम नगरपालिकाले रकम भुक्तानी गर्ने सम्झौता गरिएको छ ।
भदौ ५ गतेदेखि लागू भएको यो सुविधा आवश्यकताअनुसार प्रत्येक आर्थिक वर्षको साउन मसान्तभित्र नवीकरण गरिने छ । सम्झौताको साक्षीका रुपमा नगर उपप्रमुख यादवप्रसाद पाठक, निमित्त प्रमुख प्रशासकीय अधिकत दीपा घिमिरे र भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यले हस्ताक्षर गरेका छन् ।
नगरप्रमुख सापकोटाले सरकारी अस्पतालमै गुणस्तरीय उपचार र स्वास्थ्यसेवा प्राप्त हुने भएकाले नगरपालिकाले बकुलहर रत्ननगर अस्पताल र भरतपुर अस्पतालसँग सम्झौता गरी नागरिकको उपचार पाउने हक सुनिश्चित गरेको बताए ।












प्रतिक्रिया