केही हफ्ता अघि मित्र तारा बराल र बिटु केसी बोष्टन आउनु भयो , गजल उत्सवको भब्य कार्यक्रममा बिटुजीको गजल सुन्ने अवसर मिल्यो । त्यहीबेला नेपालकी उदयीमान गजलकार बिटु केसीको गजल संग्रह ‘धीत’ हात पऱ्यो । एकहफ्ता हामीले संगसंगै बितायौं । पूराना स्मृति ताजा गर्यौं । गजलका कुराहरु गर्यौं । धीत हातमा परेपछि पढ्नै पर्ने औडाहा थियो । तर व्यस्तताले समय दिन सकेको थिइन । उहाँहरुलाई विदा गरेपछि धीत मज्जाले पढेँ ।
गजल पढदै गएँ, त्यसमा डुव्दै गएँ । आफ्नो भावन, व्यथा र उदगारहरूलाई शव्दमा उन्ने प्रयास गर्नुभएको रहेछ गजलकारले । एउटा शिल्पकारले मन लगाएर कुंदेका मूर्तिहरूको छनक दिने खालका थुप्रै गजलहरू छन् यस संग्रह भित्र ।एउटा काव्य शिल्पीले मन लगाएर छेना हथौडाले मूर्ति कुंदीरहेको जस्तो लाग्छ पढदै जांदा । काव्य रचना एउटा यस्तो विधा हो जस्मा छेना हथौडाको काम शव्द र भावनाले गरेको हुन्छ । लाग्छ, मानौं एकाघ्र भएर मूर्ति बनाऊनमा तल्लिन छ शिल्पकार । जव त्यो मूर्तिको घुम्टो उघार्छ शिल्पकारले, तेतिवेलाको व्यक्त गर्न नसकिने हर्षले जन्माएको सन्तोष नै हो एउटा गजल या कविता लेख्नु । जति हेरे पनि धीत नमर्ने मूर्ति जस्तै जति पढे पनि धीत नमर्ने ।
त्यसैले म भन्छु यो संग्रह धीत नमरेको ‘धीत’ जस्तै भयो मेरो लागि ।
मैले बिटुजीलाई यतै प्रवास बसाईको क्रममा चिनेको हुँ । उहाँ व्यक्तिगत रूपमा पनि अति नै संवेदनशील र भावूक हुनुहुन्छ । यता ह्यूस्टनमा रहँदा पनि नेपाली साहित्यको सम्बर्द्धनमा दत्त चितले लागिरहनु भएको थियो । मलाई लाग्छ यो उहाँको दोश्रो प्रकाशित संग्रह हो ।
सललल बगेका गजलहरूले कतै गहिरो रानीतिक व्यंड्ग गरेको छ भने कतै समाजको व्याप्त असमानतालाई पनि उजागर गरेको छ ।
उहाँ लेख्नुहुन्छ –
“कतै पीपल त कतै वर हरायो
हेर्दा हेर्दै गाउँबाट घर हरायो “

हो बिटुजी, यो राष्टिय पीडा हो , तपाईले कुदेंका मूर्तिको आँखाबाट आँशु हैन रगत बगेको देख्छु म पनि !
दुई दुई हरफमा कोरिएका यो गजल संग्रहबाट जुनसुकै सेर पढे पनि त्यस्मा ऊन्मादको आनन्द र व्यथाको चित्कार संगसंगै बगेर जान्छ ।
फेरि कतै लेख्नुहुन्छ –
“छोरा छोरी उतै सपना टिप्न उडे
वुढो गोडाहरूको पनि भर हरायो ।”
यो वर्तमानको तितो यथार्थ हो ।गाउँका गाउँ रित्तिएका छन् , बुढाबुढीको रोदन बोकेको छ यो सेरले ।
मलाई त हरफै पिच्छे वाह वाह भन्न मनलाग्छ ।
कतै लेख्नुहुन्छ -“जति समाऊन खोज्छु, उति फुस्किरहन्छ,
आफैबाट केही भागेको छ आजकल ।”
के होला त्यो ? अवसर सम्भावना या भाग्य?
म त भन्छु भिन्न भिन्न व्यक्तिका भिन्न भिन्न अनुभव हुनसक्छन,
काश ! हामी सवल समाजमा बाच्न पाए ! हामी सवैको एउटै चाहाना छ , बिटुजीको जस्तै समृद्ध देश सवल समाज ।
फेरि अभावको पिडा र उमेरको उत्तरार्ध्दलाई यसरी चित्रण गर्नुहुन्छ-
मर्न सकिन, बाँचेको छु किस्ता किस्तामा,
रहरहरूलाई भाँचेको छु किस्ता किस्तामा “
समयले कुनै बेला मान्छेलाई भित्तामा पुऱ्याऊन सक्छ,तेसवेलाको व्यथालाई यसरी चित्रण गर्नुभयो गजलकारले ।
कति सम्म लेखुँ, कहां सम्म लेंखु ? यो भावनाको समुद्रमा सजग गोताखोरले झै शव्दको शीपी वटुलेर ल्याऊनु भएको छ बिटु केसीले ।
जति डुव्यो त्यति नै डुव्न मनलाग्ने । नारी श्रष्टाको यो कृति “धीत”लाई त्यसैले मैले धीत नमरेको धीत भन्न रूचाएँ ।
राजमित्र प्रांड्गण
माल्डेन,बोस्टन
अमेरिका ।
[email protected]












प्रतिक्रिया