अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएनए, एनसिसि) अमेरिकाले संघको निर्वाचन आयोग उपर असभ्य व्यवहार भएको ठहर गर्दै त्यसको घोर भर्त्सना गरेको छ। गत अगष्ट १२, २०२५ का दिन निर्वाचन आयोगद्वारा आयोजित भर्च्युअल बैठक(जुम बैठक)का क्रममा सहभागी केही व्यक्तिहरुबाट निर्वाचन आयोगका प्रमुख तथा सदस्यहरु उपर भएको अभिव्यक्ति तथा व्यवहार असभ्य, अपमानजनक र हिंसा भड्काउने खालको भएको ठहर गर्दै घोर भर्त्सना गरेको हो।
संघले अगष्ट १५, २०२५ शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटना आपसी सम्मान, पेशागत मर्यादा तथा लोकतान्त्रिक आचरणका मूल्य र मान्यता विरुद्ध रहेको ठहरसहित चिन्ता समेत व्यक्त गरेको छ। जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ : ”गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका(एनआरएनए, एनसिसि, युएसए) को निर्वाचन समितिद्वारा अगष्ट १२, २०२५ मा आयोजित जुम बैठकमा निर्वाचन समितिका प्रमुख श्री बासु फुलारा र अन्य सदस्यहरु उपर बैठकमा उपस्थित केही व्यक्तिहरुबाट गरिएको असभ्य, अपमानजनक र हिंसा भड्काउने अभिव्यक्ति तथा व्यवहारप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका गम्भीर चिन्ता व्यक्त गर्दै घोर भर्त्सना गर्दछ।”
जारी विज्ञप्तिमा निर्वाचन आयोग संघको निर्वाचन गराउन वार्षिक साधारण सभाबाट चुनिएको एक वैधानिक जिम्मेवारी प्राप्त स्वतन्त्र, विधानसम्मत र पूर्णत: स्वयंसेवी संस्थागत निकाय भएको उल्लेख गर्दै त्यसको गरिमा, स्वायत्तता वा अधिकारलाई कम्जोर पार्ने कुनै पनि प्रयास संघले अस्वीकार्य गर्ने उल्लेख गरिएको छ। त्यसैगरी, संघले आफ्ना सदस्यहरु र उम्मेदवारहरूलाई आपसी सहिष्णुता कायम गर्दै सहयोगात्मक व्यवहार गर्न, व्यक्तिगत रुपमा कसैलाई पनि आक्रमण नगर्न र निर्वाचन प्रक्रियालाई सौहार्दपूर्ण वातावरणमा विश्वसनीय र गरिमामय बनाउन प्रतिबद्ध रहन आग्रह समेत गरेको छ।
विज्ञप्ति मार्फत संघले सामुदायिक एकता र सम्मानको भावना विपरित भएका गतिविधिहरुको निर्मम समीक्षा गरिने जनाउदै निर्वाचन आयोगको स्वतन्त्रता संरक्षण गर्न र निष्पक्ष वातावरण सुनिश्चित गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ।
संघद्वारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति
निर्वाचन समितिका प्रमुख तथा आयुक्तहरु उपर भएको असभ्य व्यवहारको एनआरएनए एनसीसी अमेरिकाको घोर भर्त्सना!
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका (NRNA NCC USA) को निर्वाचन समितिद्वारा अगस्त १२, २०२५ मा आयोजित जुम बैठकमा निर्वाचन समितिका प्रमुख श्री बासु फुलारा र अन्य सदस्यहरू उपर बैठकमा उपस्थित केही व्यक्तिहरुबाट गरिएको असभ्य, अपमानजनक, र हिंसा भड़काउने अभिव्यक्ति तथा व्यवहारप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका गम्भीर चिन्ता व्यक्त गर्दै घोर भर्त्सना गर्दछ।
निर्वाचन समिति बार्षिक साधारण सभाबाट चुनिएको एउटा स्वतन्त्र, विधानसम्मत र पूर्णतः स्वयंसेवी संस्थागत निकाय हो, जसले एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन निष्पक्ष, पारदर्शी र निष्कलंक ढङ्गले सम्पन्न गर्ने संवैधानिक जिम्मेवारी वहन गरेको छ। यसको गरिमा, स्वायत्तता वा अधिकारलाई कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य गर्दै र यस्ता गतिविधिहरु आपसी सम्मान, पेशागत मर्यादा तथा लोकतान्त्रिक आचरणका मूल्य–मान्यताविरुद्ध रहेको संस्थाको ठहर छ।
एनआरएनए एनसीसी अमेरिका दृढतापूर्वक विश्वास गर्दछ कि सबै सदस्य, उम्मेदवार तथा समर्थकहरूले विशेषगरी औपचारिक भूमिकामा रहेका व्यक्तिहरूलाई सम्बोधन गर्दा उच्चतम तहको सभ्य भाषा, व्यवहार, शिष्टाचार र आदर देखाउन आवश्यक छ। हालैको घटनाका गतिविधि हाम्रो समुदायको एकता र सम्मानको भावनाको खिलाफमा रहेका छन्।हामी हाम्रा सम्पूर्ण सदस्यहरु र उम्मेदवारहरूलाई आपसी सहिष्णुता कायम गर्दै सहयोगात्मक व्यवहार गर्न, व्यक्तिगत रुपमा कसैलाई पनि आक्रमण नगर्न र निर्वाचन प्रक्रियालाई सौहार्दपूर्ण वातावरणमा विश्वसनीय र गरिमामय बनाउन प्रतिबद्ध रहन आग्रह गर्दछौं।
यसका लागि एनआरएनए एनसीसी अमेरिका निर्वाचन समितिको स्वतन्त्रता संरक्षण गर्न र सबै सहभागीका लागि निष्पक्ष वातावरण सुनिश्चित गर्न दृढप्रतिज्ञा गर्दै यस्तो परिस्थिति सिर्जना हुनुका कारणको निर्मम समीक्षा गरी आगामी गतिविधिहरु अघी बढाउन प्रतिबद्ध छ।
गैरआवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद्, अमेरिका
@topfansNRNA NCC USA












प्रतिक्रिया