न्यूयोर्क । नेपाली आदिवासीहरुको विविध संस्कृति झल्किने परेडसहित नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले न्यूयोर्कको ज्याकसन हाइटमा ३१ औँ विश्व आदिवासी दिवस मनाएको छ ।
अमेरिकाको न्यूयोर्क, न्यूजर्सी, कनिक्टिकट लगायतका राज्यमा बसोबास गर्ने नेपाली आदिबासी समुदाय तथा अन्य नेपाली समुदायको सहभागितामा साँस्कृतिक झाँकीसहितको परेड आयोजना गरी दिवश मनाएको हो । ज्याकसन हाइटको उडसाईड एभन्युको ७२ स्ट्रिटदेखि सुरु भएको परेड ७८ स्ट्रिटको मध्यभागमा निर्माण गरिएको मञ्चमा पुगेर टुंगिएको थियो । सडकमै निर्माण गरिएको मन्चमा विश्व आदिवासी दिवसको विशेष समारोह आयोजना भएको थियो ।
नेपाली महावाणिज्य दूतावास न्यूयोर्कका महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यमा भएको समारोहमा न्यूयोर्क राज्यका एसेम्बली मेम्बर स्टेफन रागा, सिनेटर जोन लु, प्राइमेरी इलेक्टेड काउन्सीले मेम्बर फिल वन, बर्नी चाउ, मेयर कार्यालयका प्रतिनिधि सुकरानी धनपद्, तेन्जीङ छेसाङ लगायतका स्थानीय जनप्रतिधिहरुको सहभागिता रहेको थियो ।
समारोहमा उज्यालो अभियानका नायक कुलमान घिसिङ, फिप्नाअन्तर्गतका १८ जातीय सदस्या संस्थाका प्रतिनिधि, न्यूयोर्कका क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि न्यूयोर्क सिटीका डेमोक्रेटिक पार्टीका ड्रिस्टिक्ट लिडर छेवाङ लामा र विष्णु रानामगर लगायतको विषेश उपस्थिति रहेको थियो ।
बौद्धधर्म गुरु टुल्कु उर्गेन शेर्पाबाट शान्ति प्राथना गरेर सुरु भएको कार्यक्रममा सहभागी अतिथिहरुलाई स्वागत गर्दै फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामा ह्योल्मोले नेपालका आदिवासी समुदायको भाषा संस्कृति र परम्पराको जगेर्न गर्नको लागि र नयाँपुस्तालाई आफ्नो पहिचान बारेमा दिक्षित गर्नको लागि फिप्नाले आफ्नो गतिविधि गर्दै आएको जानकारी गराए ।
यस्तै कार्यक्रमका संयोजक पूर्ण पैजामगरले आदिवासीको साँस्कृतिक विविधता देशको धरोहर भएको उल्लेख गर्दै देशलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने यस्ता धरोहरलाई राज्यले संरक्षण गरिनुपर्ने र नयाँ पुस्ताले पनि अंगाल्ने वातावरण निर्माण गरिनुपर्ने बताए ।
सो अवसरमा फिलिपिन्सका आदिवासी समुदायको पहिचान झल्किने नृत्य प्रस्तुत गरेको थियो भने, तामाङ, नेवार, शेर्पा, ह्योल्मो, ढोक्प्या, राई, लिम्बु, गुरुङ, मगर आदि समुदायको परम्परागत संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
समारोहमा शुभकामना दिँदै प्रमुखअतिथि एवं महावाणिज्यदूत दधिराम भण्डारीले फिप्नाले विश्व आदिवासी जनजाति दिवशका अवसर पारेर आयोजना गरेको यो कार्यक्रमले अमेरिकामा नेपाललाई चिनाउन मद्दत पुग्ने बताउँदै यसप्रकारको कार्यक्रमहरु आयोजनाको लागि नेपाल सरकारले संधै प्रोत्सहान गर्ने बताए ।
आगामी दिनमा पनि फिप्ना तथा यस संस्थासँग आवद्ध सदस्य संस्थाहरुसँग मिलेर महावाणिज्यदूतको कार्यालयले नेपाल प्रवर्द्धनको गतिविधिहरु आयोजना गर्न तयार रहेकोसमेत उनले जानकारी गराए ।
कार्यक्रममा दिवशको अवसरमा विश्वभर छरिएर रहेका नेपाली आदिवासी जनजाति समुदायलाई शुभकामाना दिँदै विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक एवं उज्यालो नेपाल अभियानका नायक कुलमान घिसिङले विदेशी भूमिमा पनि नेपाली आदिवासीहरुले आफ्नो परम्परा तथा संस्कृति प्रवर्द्धनका लागि गरिएको कार्यक्रम सराहनीय रहेको बताए ।
आफूले उज्यालो नेपाल अभियानको क्रममा रहेको चर्चा गर्दै यो अभियानमा जोडेर सबैले सहयोग गर्न अनुरोध गरे । नेपालको विकास सुशासन, संवृद्धि र रोजगार वृद्धिमा सहयोग गर्नकै लागि यो अभियान सुरु गरिएको जानकारी दिँदै यो अभियानमा गैरआवसीय नेपाली नागरिकको ठूलो भूमिका रहने भएकोले वदेशको मात्र हैन नेपालमा पनि केही गर्नुपर्छ भन्ने धारणा बनाउन उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा न्यूयोर्क राज्यका सांसद स्टेफन रागाले इतिहासमा न्यूयोर्क पनि आदिवासी समुदायकै भूमि रहेको चर्चा गर्दै आदिवासी समुदायको पहुँच र सम्मानमा कमि आउन नहुने बताए । अमेरिकामा नै क्वीन्स काउन्टी सबैभन्दा विविधतले भरिएको रहेको चर्चा गर्दै यस्तो विविधतायुक्त क्षेत्रबाट आफूले राज्य संसदमा प्रतिनिधित्व गर्न पाउदा खुशी लागेको र सबै समुदायको आर्थिक सामाजिक उत्थानका लागि आफु प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए ।
यस्तै राज्य सिनेटर जोन लुले न्यूयोर्क सिटीमा लामो समयदेखि आफू नेपाली समुदायसँग परिचित रहेको बताउँदै नेपालको विविधताले न्यूयोर्क सिटीलाई नै सशक्त बनाएको बताए ।
यसैगरी न्यूयोर्क सिटीका काउन्सिल मेम्बरका प्राइमरी विजेता फिल वाङ र बर्नी चाउले हरेक समुदायको भाषा संस्कृति र परम्परा अत्यन्त महत्त्वपूर्ण हुने भएकोले नयाँ पुस्तालाई पनि ती कुराहरु सिकाउनु र बुझाउनु पर्नेमा जोड दिए ।
सिटीका मेयर कार्यालय प्रतिनिधिहरु सुकरानी धनपद र तेन्जीङ छेवाङले दिवशको अवसरमा सबैमा शुभाकामना दिदै नेपाली आदिवासी समुदाय र अन्य समुदायसंग मिलेर काम गर्न मेयर कार्यालय तयार रहेको जानकारी गराए ।
कार्यक्रममा फिप्नाका सल्लाहकार डण्डु ढोक्प्या, आदिवासी जनजाति महिला महासंघ अमेरिकाका अध्यक्ष इन्दिरा चोङबाङ, बरिष्ट पत्रकार प्रदिप थापा परियार, वल्र्ड नेता अर्गनाइजेसनका बरिष्ठ उपाध्यक्ष समिर महर्जन लगायतले आदिवासी जनजातिको हक अधिकार र विश्व आदिवासी दिवशको बारेमा धारणा राखेका थिए ।
कार्यक्रम समापन गर्दै फिप्नाका अध्यक्ष तोरण गरुङले जुनसुकै भुमिमा रहेपनि आफ्नो भाषा संस्कार संस्कृतिलाई नभुलौ भन्ने सन्देश सहीत यो कार्यक्रमको आयोजना गरेको बताए । आिदवासी जनजातिको अधिकार सुरक्षित गर्नका लागि नेपालमा गणतन्त्र, समावेशीता तथा धर्म निरपेक्षतालाई प्रभावकारी कार्यान्वयनको खबरदारी समेत कार्यक्रमको उदेश्य भएको उनको भनाइ थियो ।
प्रवासमा रहेर पनि आदिवासी जनजातिको भाषा धर्म संस्कृति जगेर्ना गर्नु हाम्रो जिम्मेवारी रहेको बताउँदै यसका लागि अमेरिकाको स्थानीय तथा राज्य तहमा जनप्रतिनिधि तथा सरकारी तहमा प्रतिनिधित्वको लागि पहल र प्रयास गर्नुपनि फिप्नाको उदेश्य रहेको अध्यक्ष गुरुङले बताए ।
फिप्नाद्वारा सम्मान
३१ औँ विश्व आदिवासी दिवशको अवसर पारेर यो वर्ष नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आदिवासी समुदायको विभिन्न क्षेत्रमा विषेश योगदान गरेका तीन जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सञ्चारकर्मीद्वयय मच्छेदेवी गुरुङ र खड्काबहादुर पुलामी (बिक्की) रहेका छन् भने फिल्मकर्मी दलप्रसाद लिङ्देन रहेका छन् । उनीहरुलाई प्रमुखअतिथि महावाणिज्यदूत दधिराम भण्डारी र फिप्नाका अध्यक्ष तोरण गुरुङले सम्मान पत्र प्रदान गरेका थिए ।
नेपालमा रेडियो पत्रकारिताको क्षेत्रमा एक दशकसम्म सक्रिय रहेका मच्छेदेवी गुरुङ हाल नेपाली समुदायका अनलाइन पोर्टल एनवाईसी नेपालन्युजका सम्पादक हुन् । यसअघि एभरेष्ट टाइम्समा सक्रिय रहेका गुरुङ नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्व कोषाध्यक्ष र उपाध्यक्ष समेत हुन् । यसैगरी पुलामी न्यूयोर्कस्थित नेपाली सामुदायिक मिडिया मकै हाउसका सञ्चालक हुन् भने लिङ्देन लामो समयदेखि लिम्बु समुदायको चलचित्र निर्माणमा सक्रिय छन् ।
महासचिव दीपक चौधरीले स्थानिय सरकारका जनप्रतिनिधीहरुसँग समन्वय गरी कार्यकमको संयोजन गरेका थिए ।
कार्यक्रम संयोजक पूर्ण पाइजा मगरसहित, महासचिव चौधरी, कार्यसमिति र सल्लाहकारसहितको कार्यक्रम व्यवस्थापन समितिले कार्यक्रम व्यवस्थापन गरेको हो । कार्यक्रममा संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा सहभागी भएका थिए।
कार्यक्रममा द गुरुङ (तमु) सोसाइटी इंक युएसए, तामाङ सोसाइटी अफ अमेरिका, मगर संघ अमेरिका, शेर्पा संघ अमेरिका, किरात याक्थुङ चुम्लुङ अमेरिका, किरात राई सोसाइटी अफ अमेरिका, थारु एष्ड फे्रष्ड्स एशोशिएसन, ढोक्प्या किदुग युएसए, युनाइटेड मुगुम अर्गनाइजेशन इंक, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, नेवा गुठी न्यू योर्क, ह्योल्मो सोसाइटी अफ अमेरिका, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना), नेप्लिज मुलवासी मंगोल कम्युनिटी इन अमेरिका, काइन्डिङ सिन्डलगायत जातीय संस्थाहरु सांस्कृतिक झाँकी र व्यानरसहित उपस्थित भएका थिए । साथै अन्य जातीय संस्थाका प्रतिनिधिहरुसमेत सहभागी थिए ।














प्रतिक्रिया