अमेरिका समाचार

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

टेक्सस  विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलालाई टेक्ससको ड्यालसमा सम्मान गरिएको छ ।

पाँचपटक सगरमाथा आरोहण गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुईपटक सगरमाथा आरोहण गरेकी उषा बिष्टलाई ड्यालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा एक कार्यक्रमबीच सम्मान गरिएको हो।

Advertisement

नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, टेक्सस, नेपलिज् मेडिकल एसोसिएसनलगायतका सङ्घसंस्थाको संयुक्त आयोजनामा आयोजित सो कार्यक्रममा सगरमाथा आरोही श्रेष्ठ र बिष्टले हिमाल आरोहणका क्रममा भोगेका अनुभव प्रस्तुत गरेका थिए।

कार्यक्रममा उपस्थित नेपाली समुदायले उनीहरुको अनुभव सुनेपछि भावुक हुँदै हिमाल आरोही दुवै जनालाई सम्मान गरिएको थियो।

सो अवसरमा फोटोपत्रकार एवं हिमाल आरोही श्रेष्ठले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमालसमेत आरोहण गरेको र १३ दिनको अवधिमा तीनपटक सगरमाथाको चुचुरोमा पुगेको रोचक अनुभव सुनाएकी थिइन्।

त्यस्तै, आरोही उषा बिष्टले आफूले दुईपटक सगरमाथा आरोहण गर्नाका साथै नेपाल, संयुक्त राज्यअमेरिका, रुस र अष्ट्रेलियाका विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गरेको जानकारी दिइन्। हिमाल आरोही बिष्ट सगरमाथा आरोहण गर्नै सुदूरपश्चिमकी पहिलो महिला हुन्।

कार्यक्रममा ड्यालस क्षेत्रका नेपालीहरूले हिमाल आरोही श्रेष्ठ र बिष्टले देखाएको अद्वितीय साहस, सङ्कल्प र राष्ट्रिय गौरवको प्रशंसा गरेका थिए।