काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले देशमा दिनैपिच्छे भ्रष्टाचारका मात्रै समाचार आइरहेको भन्दै यसले देशलाई पछि पारिरहेको बताएका छन् ।
नेपाल साहित्यिक पत्रकार संघको १९औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै कुलपति राईले देशका नेताहरूका नाम जोडेर आइरहने समाचारले पीडा हुने गरेको बताए ।
उनले भ्रष्टाचार नभए धेरै क्षेत्रमा धेरै काम गर्न सकिने अवस्था रहेको बताए। कार्यक्रममा कुलपति राईले साहित्यिक पत्रकारिता साहित्यको रंगमञ्चमा प्रवेश गर्ने साहित्यकारको मूलद्वार रहेको बताउँदै यसको छुट्टै महत्त्व रहेको बताए ।
आफूले पनि सुरुमा पत्रपत्रिकामार्फत लेखेर कवि बनेको स्मरण गराउँदै उनले गत वर्षदेखि दुईजना साहित्यिक पत्रकारलाई पुरस्कृत गर्न थालिएको बताए। राज्यले अझै पनि साहित्यिक पत्रकारहरूलाई खास सम्झन नसकेको बताए। उनले भने, “एआईले कविता लेख्न शुरु गरेको छ, तिमीहरूको कविता के हुन्छ भनेर मलाई सोध्ने गरिएको छ, मैले एआईले आँसु झार्छ कि झार्दैन ? भनेर सोध्छु, मानिसको अन्तरमन जस्तो एआई हुँदैन, त्यसको महत्व छुट्टै छ ।’
कार्यक्रममा संघले भोजपुरी भाषाको पत्रिका ‘भोजपुरिया माटी’का अग्रज साहित्यिक पत्रकार रामप्रसाद साह र गुल्मीका अग्रज साहित्यिक पत्रकार शशि पन्थीलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेको थियो । कार्यक्रममा साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले गुठीका मानिसलाई सम्मान गर्ने विकृति बढिरहेका वेला वास्तविक र योग्य व्यक्तिलाई सम्मान गरिएकोमा प्रशंसा गरे। उनले सरकारले साहित्यिक पत्रकार र पत्रकारितालाई महत्त्व नदिएकोमा दुःख व्यक्त गरे ।
पुरस्कृत शशि पन्थीले पुरस्कार वा सहयोगको आशाले काम गरेको होइन काम गर्दै जाँदा फल पनि लाग्दो रहेछ भनेर आज थाहा पाएको बताए । अर्का सम्मानित व्यक्ति रामप्रसाद साहले साहित्यिक पत्रकारिता गर्न गाह्रो भएको र अझै प्रकाशन गर्न झनै गाह्रो रहेको अनुभव सुनाए ।
कार्यक्रममा अग्रज पत्रकार पुरुषोत्तम दाहालले साहित्यसम्बन्धी पत्रकारिता अग्नि तपस्या जस्तो लाग्ने गरेको बताए । उनले साहित्य भनेको मान्छेको चेतनासँग जोडिएको बताए। संघका अध्यक्ष मोहन दुवालले संस्था स्थापना भएको १९ वर्ष पुगिसकेको र संस्थाले केही प्रयास गरिरहेको जानकारी दिए ।











प्रतिक्रिया