काठमाडौँ । महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विधेयकमा समसामयिक प्रवृत्तिलाई समेट्नुपर्ने बताएका छन् ।
महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा आज यहाँ आयोजित मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उनले अपुरो कानुनलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिए । उक्त विधेयक छिट्टै नै संसद्मा प्रवेश गर्ने जानकारी दिँदै समितिले विधेयकमाथि विज्ञ र सरोकारवालासँगको पर्याप्त छलफल गर्ने उनले बताए ।
सभापति साहले नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी महिलालाई विवाह, रोजगारी वा शिक्षालगायतका प्रलोभन देखाएर भारत, खाडी मुलुकलगायत देशमा बेचबिखन भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न कानुनी व्यवस्था कडा बनाउनुपर्नेमा जोड दिए ।
मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० विधेयकमाथिको छलफलमा प्रतिनिधिसभा सदस्य सुशिला सिर्पाली ठकुरी, लक्ष्मी तिवारी, सरस्वती बजिमय, रोशन कार्की, सूर्य ढकाल र ईश्वरी घर्ती मगरलगायतले विधेयकबारे आआफ्नो धारणा राखे । उनहरूले कानुन कार्यान्वयनमा कमजोरी, पीडितमैत्री सेवा तथा पुनस्र्थापनाको अभाव र प्रमाण सङ्कलन एवं पीडितलाई दोषी ठहर गर्ने प्रवृत्ति अहिलेको चुनौति रहेको बताए ।
मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले मानव बेचविखन र मानव तस्करी फरक विषय भएको धारणा राखे । उनले अन्तरराष्ट्रिय ‘पोर्टोकल’ सँग मेल खानेगरी कानुन संशोधन गर्न आग्रहसमेत गरे ।
यस्तै, अन्तरराष्ट्रिय सङ्घसन्धीमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको स्मरण गराउँदै पक्ष राष्ट्रलाई जिम्मेवार बनाउने हिसाबले कानुन संशोधन गर्न उहाँले आग्रह गरेका थिए ।











प्रतिक्रिया