वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।
ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेकै महिना विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भनिने अमेरिकाले ६१.६ अर्ब डलरको व्यापार घाटा बेहोरेको थियो । मार्चको तुलनामा यो घाटा ५५.५ प्रतिशतले घटेको वाणिज्य विभागले जनाएको छ ।
व्यवसायहरूले ट्रम्पको प्रतीज्ञा गरिएको कर कार्यान्वयनमा आउनु पहिले विदेशी वस्तुको आयातमा व्यापक लगानी गरेपछि मार्चमा समग्र अमेरिकी व्यापार घाटा १३८.३ अर्ब डलर पुगेको थियो । अमेरिकी सहयोगी र प्रतिस्पर्धीहरूमाथि समान रूपमा १० प्रतिशत आधारभूत कर लगाएपछि अप्रिलमा आयात १६.३ प्रतिशतले घटेर ३५१ अर्ब डलरमा झरेको छ ।
आधारभूत १० प्रतिशत करबाहेक ट्रम्पले चीन, युरोपेली सङ्घ र जापानसहितका दर्जनौँ अर्थतन्त्रमा उच्च कर दरको घोषणा पनि गरेका थिए यद्यपि, ती दर व्यापार वार्ताका लागि ठाउँ दिने शर्तमा जुलाईको सुरूसम्म लागू नहुने सहमति ती मुलुकले गरेका छन् ।
विश्वका दुई ठूला अर्थतन्त्रले एकअर्काको उत्पादनमा दुवै पक्षको कर तीन अङ्कमा पु¥याएपछि चीनबाट आउने सामान ट्रम्पको सबैभन्दा ठूलो निशाना बनेको थियो । अमेरिका र चीनबीच स्थितिलाई कम गर्न अस्थायी सम्झौतामा पुग्नुअघि चीनबाट धेरै ढुवानीहरू रोकिएको थियो ।
तत्कालका लागि सबैका आँखा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको फोन वार्तामा केन्द्रित छन् । उनीहरूबीच बिहीबार नै फोन वार्ता भएको छ । फोनवार्ताले विवादको दीर्घकालीन समाधान खोज्न मद्दत गर्न सक्ने आशा गरिएको छ ।
ट्रम्पले गत हप्ता बेइजिङले आफ्नो अस्थायी सम्झौताका शर्तहरू उल्लङ्घन गरेको आरोप लगाएपछि दुई देशबीचको व्यापार सम्झौताको अवस्था अनिश्चित छ । गत अप्रिलमा अमेरिकी आयात १६.३ प्रतिशतले घटेर ३५१ अर्ब डलरमा झरेको थियो ।
विशेष गरी उपभोग्य वस्तुहरूको आयात ३३ अर्ब डलरले घटेको तथ्याङ्कले देखाएको छ। अमेरिकी निर्यात तीन प्रतिशतले बढेर २८९.४ अर्ब डलर पुगेको छ, जसले औद्योगिक आपूर्तिजस्ता वस्तुनिर्यातलाई सहयोग गरेको छ । तर, अमेरिकी अटो तथा पार्टपुर्जाको निर्यात ३.३ अर्ब डलरले घटेको छ । एएफपी












प्रतिक्रिया