प्रवासी मंच (एमालेको विदेशस्थित छाता संगठन)-ले नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा अनलाइन जुममार्फत गर्ने भएछ,यही वैशाख १ गते।
यो सुनेर म स्तब्ध भएँ! मेरो दिमागमा प्रश्नहरूको भुइँचालो नै आयो। र सोच्न थालेँ – म स्वयं आयोजक अथवा प्रमुख अतिथि भएको भए म कसरी सम्बोधन गर्थेँ?
पहिले आयोजक भएर सोच्न थालेँ
केही महिनाअघि मात्रै प्रधानमन्त्री केपी ओलीकै मन्त्रिमण्डलले अध्यादेश ल्याएर मलाई तेस्रो स्तरको नागरिकबाट पर्यटक बनाएको थियो। हुन त म वंशजको नागरिक थिएँ, प्रजातन्त्र प्राप्तिका लागि ४५/४६ सालतिर उहाँसँगै ज्यानको बाजी लगाएर लडेको मान्छे, नागरिकले पाउने सम्पूर्ण अधिकार प्राप्तिका लागि थियो त्यो! समय बित्दै गयो, नागरिकका अपेक्षा धेरै थिए। नेताहरू आफैँ लड्न थाले।
न्यूनतम आवश्यकता पुरा गर्न नसक्ने पारिश्रमिकको रोजगारी, शिक्षामा विचलन, र विकासले पनि गति लिन नसक्दा जनअसन्तोषमा व्यापकता, द्वन्द्व, अस्थिरता र देशमा उत्पन्न गन्जागोल अवस्थाले नेपालीहरू विदेश पलायन भए। म पनि आफू र आफ्नो परिवारको जीवन रक्षाका लागि विदेशिएँ।
म जस्ता लाखौं साथीहरू रोजगारी र सरल जीवनयापनको निम्ति विदेशतिर हानिए। यता नेपालको विग्रँदो आर्थिक अवस्था, खाली हुँदै गरेका गाउँघर, युवा शक्तिको विदेश पलायन डरलाग्दो देखिन्छ। यस्तो गम्भीर समयमा नेपाल सरकारले विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपाल फर्किने सहज कानुनी वातावरण बनाउनु पर्थ्यो।
गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको सीप, दक्षता र पूँजी नेपालको समृद्धिमा उपयोग गर्न सकिन्थ्यो। तर वर्तमान केपी ओली सरकारले त्यतातिर गम्भीरतापूर्वक ध्यान दिएकै छैन। उल्टो, अध्यादेशमार्फत विदेशका नेपालीहरूलाई नागरिक हैन, पर्यटक बनाउन लागेको छ।
अहिले दिएको गैरआवासीय नागरिकताले न त सम्पत्ति जोड्न पाइन्छ, न त व्यापार–व्यवसाय गर्ने सहज वातावरण। न त प्रतिनिधि छान्न पाइन्छ, न प्रतिनिधि बन्न! यो कस्तो नागरिकता हो?
१९५० को सन्धिले भारतीय नागरिकले प्राप्त गर्ने अधिकारजति पनि गैरआवासीय नेपालीले प्राप्त गरेनन्। कहिले–काहीँ आफैँलाई प्रश्न गर्छु – कसरी अंगीकृत नागरिक राज्यलाई प्यारो भए र हामी वंशजका नागरिकचाँही पराइ?
तर म आयोजक छु र म जस्तै मेरा साथीभाइहरूलाई मैले आमन्त्रण गरेको छु, प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर स्वागत गर्न। साथीहरू भन्छन् – जसले हाम्रो समस्याको ख्याल गर्दैन, हामीलाई पराइ बनाउँछ, उसैलाई प्रमुख अतिथि बनाएर स्वागत गर्नु?
अनेक थरिका प्रश्नको सामना गर्नु परेको छ मलाई, भन्छन् – जसले हामीलाई विदेशी बनायो, उसैलाई कसरी स्वागत गर्नु? यी प्रश्नहरूको जवाफ म आयोजक हुँदा दिन सक्दिन।
टुक्रा–टुक्रा भएर टुटेको मनलाई कसरी जोडौँ, सकस हुन्छ! जन्मदै बुवाले हात डोर्याउँदै हाम्रो रातो झन्डा बोक्न सिकाउनु भएको थियो र आज म प्रवासी मंचमा छु; त्यसैले मलाई नागरिकबाट पर्यटक बनाउने प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाएर उहाँको स्वागत गर्न र शुभकामना ग्रहण गर्न तयार भएर बसेको छु ।
प्रमुख अतिथि भएर सोच्दा
माथि उल्लेखित सबै विवरण सत्य हो। नागरिकबाट पर्यटक बनाइएको पनि सत्य हो। अंगीकृतजत्तिको अधिकार नदिएको पनि सत्य हो। म त्यत्रो शिक्षित समूहलाई के भनेर सम्बोधन गरौँ? जसलाई मैले नै विदेशी बनाएँ; तैपनि रेमिटेन्स पठाएर मेरो देश जोगाइदिएका छन्, अर्थतन्त्र बचाइदिएका छन्। छिमेकीले नाकाबन्दी गर्दा यु एन अगाडि नेपालका लागि आवाज उठाएका छन्,चुच्चे नक्सा छाप्दा “आई लभ यु केपी बा” भनेकै थिए।
मेरो देशको कुवा, पाटी, पौवा, स्कुल होस् वा स्वास्थ्य चौकी बनाइदिएका थिए र आज प्रमुख अतिथि बनाएर इज्जत पनि दिइएका छन्, के भनौँ? म हिमालयको देशको प्रधानमन्त्री, तपाईं पूर्व–नेपालीहरूलाई नयाँ वर्षको शुभकामना भनौँ?
कसरी सम्बोधन गरौँ? पर्यटन प्रवर्द्धन गरेकै छन्, नेपाली उत्पादनको बजार खोजिदिएकै छन्; देश छोडेका, मातृभूमि त्यागेका, विदेशमा बसेर आँखा मिच्दै हामीलाई गाली गर्ने भगौडा पूर्व–नेपाली भनौँ?
यिनीहरूलाई वंशजको नागरिकताको निरन्तरता गरी दिए देशलाई फाइदा होला र?
राज्यमा आएको रेमिटेन्सको वृद्धि होला, विदेशी मुद्राको अधिक संचय, जसका कारण श्रीलङ्का जसरी टाट पल्टिनु नपर्ने; नयाँ–नयाँ प्रकारका कम्पनीहरूको स्थापना, अधिकांश नेपालीहरू सूचना प्रविधिसँग आवद्ध भएकाले त्यसको अधिकतम प्रयोग गरी बेरोजगारीको अन्त्य; जसका कारण विदेशिने नेपालीहरूको संख्या घट्ने; पर्यटनको विकास र नेपाली उत्पादनलाई सजिलै विश्व बजार प्राप्त हुने; अनि उनीहरूले सिकेर ल्याएको विज्ञता र भविष्यमा जनमत संग्रह भए नेपालको पक्षमा मतदान गर्ने भएकाले फाइदा नै फाइदा।
हुँदा–हुँदा पनि यी पहिले नै वंशजका नेपाली नागरिकहरूलाई मैले नै विदेशी बनाएँ, तैपनि मलाई हृदयदेखि स्वागत गर्दै सम्मानका साथ प्रमुख अतिथि बनाएका छन् – म कसरी सम्बोधन गरौँ?
(लस एञ्जलस । लेखक कुनै पार्टीमा आबद्ध छैनन् । )
प्रतिक्रिया