चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले सुकुमबासी समस्या समाधानका लागि सरकारले अध्यादेश जारी गरेको बताएका छन् ।
नेकपा (एमाले) रत्ननगर नगर कमिटीको १०औँ नगर अधिवेशन उद्घाटन गर्दै नेता पोखरेलले सुकुमबासीलाई लालपुर्जा वितरण, विकास निर्माण र भ्रष्टाचार नियन्त्रणका लागि सरकारले अध्यादेश जारी गरेको जिकिर पारे ।
‘शासनसत्ता टिकाउन अध्यादेश ल्याइएको होइन’, उनले भने, ‘विकास निर्माण र जनतालाई छिटो सेवा दिन सरकारले अध्यादेश ल्याएको हो ।’ अध्यादेश संसद्मा टेबल भएको भन्दै उनले पास भएलगत्तै सुकुमबासीलाई लालपुर्जा वितरण, ठूला आयोजनाको निर्माण, आइटी उद्योग सञ्चालन हुने बताए । अध्यादेश पास भएपछि कानुन निर्माण हुने र त्यसपछि भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा विकास निर्माण र सुशासनको काम द्रुतगतिमा अगाडि बढ्ने उनको भनाइ छ ।
नेता पोखरेलले लामो समयदेखि रोकिएको सुकुमबासीलाई लालपुर्जा वितरणको काम सुरू हुने बताए । उनले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको सहकार्य भएको बताए ।
‘मुलुक सङ्कटमा जाने अवस्था भएपछि दुई ठूला पार्टी मिलेका हौ’, उनले भने, ‘त्यो राष्ट्रिय आवश्यकता थियो ।’ मुलुक अप्ठयारोमा पर्दा कांग्रेस र कम्युनिस्टहरु मिल्ले गरेको लामो इतिहास रहेको भन्दै उनले राणाविरोधी आन्दोलनदेखि २०६२÷६३ को आन्दोलनसम्म आइपुग्दा पटकपटक कांग्रेस र कम्युनिस्ट एक ठाउँमा उभिएको इतिहास रहेको बताए ।
मुलुकलाई बचाउन एमाले र कांग्रेसको गठबन्धन बनेको भन्दै उनले २०८४ को निर्वाचनमा दुई दलबीचमा प्रतिस्पर्धा हुने बताए । कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा सधैँ रहेको भन्दै उनले आगामी निर्वाचनमा दुई ठूला दलको बीचमा प्रतिस्पर्धा हुने तर्क गरे ।
स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीले विचार र सिद्धान्तको हिसाबले एमाले मुलुकको उत्कृष्ट पार्टी भएको बताए । जनताको अधिकार स्थापित गर्न एमालेले भूमिका खेल्दै आएको भन्दै उनले सामाजिक न्यायको पक्षमा एमाले सधैँ उभिँदै आएको बताए । एमालेलाई अहिले चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै उनले सङ्कटसँग जुध्न पार्टीलाई कार्यकर्ताको साथ आवश्यक पर्ने बताए । देशभित्रका र देशबाहिरका शक्तिहरु एमालेलाई सिध्याउन लागिपरेको भन्दै उनले एमालेलाई कुनै पनि शक्तिले कमजोर बनाउन नसक्ने बताए ।
नगर कमिटी अध्यक्ष ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा केन्द्रीय सदस्यहरु प्रभा बराल, कपिलदेव पोखरेल, स्थायी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज टीका पौडेल, जिल्ला अध्यक्ष कमलराज पाठक, रत्ननगरका संस्थापक मेयर नारायण वन, उपमेयर यादवप्रसाद पाठक, कालिका नगर कमिटीका अध्यक्ष केशव लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।












प्रतिक्रिया