नेपाल अमेरिका पत्रकार संघ(नेजा)को नवौं अधिवेशन तथा १८औं साधारणसभा अमेरिकाको पश्चिम क्षेत्र नेभाडा राज्यको लस भेगसमा हुने भएको छ ।
गत जनवरी २५ तारिख शनिबार बसेको नेजाको नियमित बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नवौं अधिवेशन तथा १८औं साधारणसभा यही आउँदो मे महिनाको १० र ११ तारिख(शनिबार र आइतबार) गर्ने गरी मितिसमेत तय गरको छ। अधिवेशन तथा साधारणसभा हुने स्थान र मिति कम्तिमा तीन महिना अगाडि नै तोकिसक्नुपर्ने नेजाको विधानमा व्यवस्था भए बमोजिम बैठकले यस्तो निर्णय गरेको हो। संस्थाको विधान अनुसार आउदो नवौं अधिवेशनले आगामी दुई वर्षीय कार्यकाल(२०२५ -२०२७) का लागि नयाँ कार्यसमितिसमेत चयन गर्ने छ।
उक्त अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि नेजा पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी संयोजक र नेजा कार्यसमितिका सदस्य द्वय ईश्वरी न्यौपाने र हेमराज बराल सदस्य रहने गरी व्यवस्थापन समितसमेत गठन गरेको छ। व्यवस्थापन समिति गठन गरेसंगै बैठकले अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि आवश्यक पर्ने तयारीका कामहरुलाई अघि बढाउन समितिलाई जिम्मेवारीसमेत सुम्पेको छ।
अधिवेशन तथा साधारणसभा नजिकिदै गर्दा नेजाले आफ्ना सदस्यहरुलाई आफ्नो सदस्यता नविकरण गर्न र उत्तर अमेरिका(अमेरिका र क्यानाडा)मा रहेर पत्रकारितामा सक्रिय रहिरहेकाहरुलाई नेजाको सदस्यता लिएर संस्थामा आबद्ध हुन आव्हानसमेत गर्दैआइरहेको छ। नेजाको विधानले अधिवेशन तथा साधारणसभामा भाग लिनका लागि कम्तिमा तीन महिना अगाडि नै पुराना सदस्यहरुले आफ्नो सदस्यता नविकरण गरिसक्नु पर्ने र नयाँले सदस्यता लिइसक्नु पर्ने व्यवस्था गरेको छ।











प्रतिक्रिया