अमेरिकी सरकारले सबैखाले वैदेशिक सहायता रोक्का गर्ने घोषणा गरेको छ। सिएनएनका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सबै अमेरिकी कुटनीतिक नियोगहरुलाई शुक्रवार जारी गरेको निर्देशन अनुसार अमेरिकाले दिंदै आएको वैदेशिक सहायता ९० दिनसम्मका लागि स्थगित हुने भएको हो। सेक्रेटरी रुबियोको निर्देशन अनुसार आपत्कालीन खाद्य सहायता सहित इजरेल र इजिप्टले पाउँदै आएको सैन्य सहयोग बाहेक विदेश मन्त्रालय र अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (USAID) बाट विश्वव्यापी कार्यक्रमका लागि दिईंदै आएको अर्बौं डलरको सहायता समेत रोकिने छ।
ट्रम्प प्रशासनको यो रबैयाले अमेरिकाले संसारभर दिंदै आएको मानवीय र स्वास्थ्य सहायता समेत रोकिने खतरा बढेको छ भने यसले मानवीय सहायतार्थ अमेरिकाले गर्दै आएको विश्व नेतृत्व समेत धराशायी हुने देखिएको छ। पूर्व राष्ट्रपति जर्ज बुशको पालामा शुरु भएको President’s Emergency Plan for AIDS Relief (PEPFAR) तथा President’s Malaria Initiative (PMI) जस्ता मानवीय स्वास्थ्य कार्यक्रम मार्फत सहयोग पाइरहेका दर्जनौं देशका करोडौं नागरिकहरु समेत प्रभावित हुने खतरा बढाएको छ। रूबियोको घोषणाले अमेरिकी सरकारको हालसम्मको स्थापित मानवीय एवं वैदेशिक सहयोग नीतिमा ठूलो प्रश्न चिन्ह खडा गरेको छ। साथै ट्रम्प प्रशासनको यो नीतिले अमेरिकी सरकार र विभिन्न देशमा रहेका स्थानीय नियोगहरुप्रति नकारात्मक धारणा बढाउन सहयोग पुग्ने अनुमान गरिएको छ। रुबियोको निर्देशनले वैदेशिक सहायतामा तत्काल रोक लगाउनुका अतिरिक्त नयाँ सहायता गर्न समेत सबै अमेरिकी सरकारी निकायहरुलाई रोकेको छ।
अमेरिकी सरकारको घोषणाले युक्रेन र ताइबानलाई दिइने सैनिक सहयोग के हुने हो भन्ने अन्यौल बढाएको छ। समाचारहरुमा जनाइए अनुसार आगामी ८५ दिनभित्र अमेरिकी सहयोग ‘राष्ट्रपति ट्रम्पको विदेश नीतिको कार्यसूचीसँग मिल्दोजुल्दो छ कि छैन’ भन्ने समीक्षा गर्ने र वैदेशिक सहयोगका लागि मापदण्ड विकास गरेर मात्र वैदेशिक सहयोगको निरन्तरता, परिमार्जन वा अन्त्य गर्ने निर्णय हुने छ ।
वैदेशिक सहायता सम्बन्धी निर्देशन जारी गर्नु अघि रुबियोले बुधबार एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘अमेरिकाले खर्च गर्ने हरेक डलर, लगानी गर्ने हरेक कार्यक्रम र अवलम्बन गर्ने हरेक नीतिले तीनवटा सरल प्रश्नको उत्तर दिनु पर्दछ र त्यो के भने—के यसले अमेरिकालाई सुरक्षित बनाउँछ? के यसले अमेरिकालाई बलियो बनाउँछ? के यसले अमेरिकालाई अझ समृद्ध बनाउँछ? आगामी दिनमा अमेरिकी वैदेशिक सहयोग यिनै तीन प्रश्नका सकारात्मक जवाफ पाइने क्षेत्र, मुलुक वा कार्यक्रमका लागि जाने निश्चित जस्तै छ।
तर यो नीतिले सीमित स्वेत सर्वोच्चताका लागि लबिङ्ग गरिरहेकाहरुलाई क्षणिक रमाइलो गराए पनि विश्वस्तरमा अमेरिकी दबदबा र नेतृत्व निकै कमजोर बनाउने छ। अमेरिकाको अन्तराष्ट्रिय फोरमहरुमा रहेको नेतृत्व, प्रभाव र विस्तार निस्तेज पार्ने छ। अमेरिकाको संसारभर रहेको प्रभाव अमेरिकाको नाम र शक्तिले मात्र होइन, यसले विश्वस्तरमा गरिरहेको मानवीय सहायता तथा समर्थक र सहयोगी देशहरुको सुरक्षामा गरिरहेको सहयोगले गर्दा भएको हो। अमेरिकी सहयोगको स्थगनले समग्रमा राष्ट्रपति ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ नीति कमजोर हुनेछ।
कभर तस्बिरः सामाजिक संजाल











प्रतिक्रिया