काठमाडौँ । भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाको पुनर्निर्माण गर्न करिब एक खर्ब एक अर्ब १२ करोड लागत अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) ले विपद्पश्चातको पुनर्निर्माण तथा पुनःस्थापना योजना स्वीकृत भएको जनाएको छ । तत्कालै लाभग्राहीसँग सम्झौता प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ ।
आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले उक्त योजना स्वीकृत गरेको हो । बैठकले योजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहलाई आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई निकासा दिने प्रबन्ध मिलाउन निर्देशन दिने निर्णय गरेको छ ।
प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता हुने जानकारी दिए । उनका अनुसार देशभर एक लाख २० हजार सात सय ३२ संरचनामा क्षति पुगेको थियो । त्यसमध्ये सडक पुल तथा यातायात क्षेत्रको क्षति तीन सय ८१ रहेको छ । यी संरचना पुनर्निर्माण गर्न २८ अर्ब १६ करोड लागत अनुमान गरिएको छ । आवश्यक लागत तीन आर्थिक वर्षसम्म जुटाउने र आयोजना सुधार तथा पुनर्निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।
प्राधिकरणका अनुसार एक सय ७६ सरकारी भवन तथा शहरी पूर्वाधारमा क्षति पुगेको थियो । ती पूर्वाधार पुनर्निर्माणका लागि करिब दुई अर्ब ३१ करोड लागत अनुमान गरिएको छ । जसमध्ये आव २०८१/०८२ मा ६९ करोड २८ लाख, २०८२/०८३ मा ९२ करोड ४२ लाख र २०८३/०८४ मा ६९ करोड ३१ लाख खर्च गर्ने लक्ष्य छ ।
यसैगरी विद्युत्, वैकल्पिक ऊर्जा र सिँचाइ क्षेत्रमा १७ अर्ब ३५ करोड लागत अनुमान गरिएको छ । यस क्षेत्रका दुई हजार एक सय १९ आयोजनामा क्षति पुगेको थियो । यसैगरी एक लाख १५ हजार पाँच सय ५८ निजी आवासमा क्षति पुगेको छ । निजी आवास पुनर्निर्माण गर्न करिब ४० अर्ब लागत अनुमान गरिएको छ ।
विपद्बाट एक हजार पाँच सय ६२ शैक्षिक संस्थामा क्षति पुगेको थियो । जसको लागत पाँच अर्ब ९३ करोड लाग्ने अनुमान गरिएको छ । यसैगरी ९० स्वास्थ्य संस्थामा क्षति पुगेको र पुनर्निर्माण गर्न ७० करोड ७९ लाख लाग्ने अनुमान गरिएको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी आठ सय १३ आयोजनामा क्षति पुगेकामा पुनर्निर्माण तथा सुधारमा छ अर्ब ४८ करोड लाग्ने अनुमान छ । तेत्तीस पुरातात्विक संरचनामा क्षति पुगेको थियो । ती पुरातात्विक संरचना पुनर्निर्माण गर्न दुई अर्ब ४९ करोड लागत अनुमान गरिएको छ ।
यी सबै संरचना निर्माण गर्न आवश्यक एक खर्ब एक अर्ब लागतमध्ये, आव २०८१/०८२ मा ३० अर्ब ५७ करोड २३ लाख, २०८२/०८३ मा ४० अर्ब ४० करोड ६३ लाख र २०८३/०८४ मा ३० अर्ब १४ करोड ७१ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया