सौराहा । सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव बिहीबारदेखि सुरू भएको छ । महोत्सव उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकारको नाममा हात्ती महोत्सवको विरोध गर्नुको तुक नरहेको बताए ।
हात्तीले चितवनको पर्यटन विकासमा मह¤वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले हात्ती महोत्सव र त्यसमा हुने गतिविधिको विरोध गर्दा पर्यटन क्षेत्रमा असर पर्ने बताए । ‘अधिकारका नाममा हात्ती महोत्सव रोकिन हुँदैन’, उनले भने, ‘महोत्सवलाई जनावरमैत्री बनाउँदै अझै शक्तिशाली बनाउनुपर्छ ।’
हात्तीका गतिविधि अवलोकन गर्न पर्यटक आउने भन्दै उनले यो सकारात्मक पक्ष भएको बताए । हात्ती महोत्सव गलत प्रचारको सिकार हुन नहुने भन्दै उनले महोत्सवलाई प्रभावशाली बनाउन सरकारले सहयोग गर्ने बताए । चितवनका पर्यटन व्यवसायीको हात्तीप्रतिको लगाव र प्रतिबद्धताका अगाडि अधिकारको नाममा गरिएको विरोध निरीह रहेको उपप्रधानमन्त्री सिंहले बताए ।
वन्यजन्तुप्रति मैत्रीपूर्ण व्यवहार आवश्यक रहेको भन्दै उनले पर्यटकीय गतिविधिलाई कुनै पनि बहानामा विरोध गर्ने छूट कसैलाई नभएको बताए । चितवनको सफारी पर्यटनलाई असर पर्ने गरी हात्ती महोत्सवप्रति असहमति जनाउन नहुने उनको तर्क छ ।
चितवनको सफारी देशकै पर्यटन उद्योगको अनुपम नमुना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले हात्ती महोत्सव र यसअन्तर्गत हुने क्रियाकलापलाई निरन्तरता दिनुपर्ने बताए ।
स्थानीय जनतालाई फाइदा हुने गरी जैविक विविधताको न्यायोचित प्रयोग गर्नुपर्ने भन्दै उनले संरक्षण र पर्यटनलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए । सम्पदा जोगाउँदै जनताले अधिकतम फाइदा लिने गरी त्यसको उपयोग गर्नुपर्ने उनको भनाइ छ । ‘देशको अर्थतन्त्रमा प्रभाव पर्ने गरी संस्कृति र पर्यटनको उपयोग गर्नुपर्छ’, उनले भने, ‘पर्यटन उद्योग सुस्तायो भने देशको अर्थतन्त्रमा असर गर्छ ।’












प्रतिक्रिया