लन्डन । विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले उनको परिवारलाई उद्धृत गर्दै बताएको छ ।
टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उनको निधन भएको हो । अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए ।
“उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो”, परिवारले एक विज्ञप्तिमा भनेको छ, “वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।”
टाइटानिक जहाज डुबेको सोही वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उनको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए ।
“तपाईं या त लामो बाँच्नुहुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नुहुन्न”, उनले भनेका थिए ।
उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिएका थिए । “यदि तपाईं धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईंले धेरै केही गर्नुभयो भने, तपाईंले अन्ततः कष्ट भोग्नुहुनेछ”, उनले भनेका थिए ।
दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गर्नुभयो र पछि शेल र बिपीजस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गरे ।
उनी लिभरपुल फुटबल क्लबका आजीवन समर्थक रहे र हरेक शुक्रबार माछा र चिप्स खाने गर्थे । विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमीको इटुका थिइन् । एएफपी
प्रतिक्रिया