मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विपदमा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ : प्रधानमन्त्री

विपदमा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुनेगरी वृद्धि भएको बताएका छन् ।

ललितपुरमा आज आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी कार्यक्रममा उनले सरकारका तीनै तहको सक्रियता र समन्वयका कारण जाजरकोट भूकम्पमा उद्धार, उपचार र राहतको अभियान सफल भएको बताए ।

प्रधानमन्त्री दाहालले भूकम्प पूर्वको तयारी, भूकम्पपछि तत्काल उद्धार, उपचार र राहतको प्रबन्ध तथा दीर्घकालीनरूपमा त्यसको प्रभावको समाधानमा सबैका प्रयास केन्द्रित गर्नुपर्ने बताए । जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार र राहतसँगै पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रतिघरपरिवार रु ५० हजार उपलब्ध गराइएको जानकारी दिँदै उनले सांसद विकास कोषको बजेट समेत थप गरी रु १० अर्ब विपद् व्यवस्थापन कोषमा राखिएको बताए ।

अस्थायी आवास निर्माणमा स्थानीय तहको नेतृत्व स्थापित हुने गरी प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहले पुनर्निर्माणका लागि पहल लिनुपर्नेमा जोड दिए । ‘स्थानीय सरकार जति सक्रिय हुन्छन् त्यति छिटो जनताले पैसा पाउँछन्, म स्थानीय स्वशासन स्थापित हुनेगरी काम गरेर देखाउन स्थानीय जनप्रतिनिधिलाई आह्वान गर्दछु’, उनले भने ।

प्रभावित क्षेत्रमा क्षतिको आकलन तथा आवश्यकता पहिचानको काम लगभग सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुनःनिर्माणको कार्य प्रारम्भ गरिने बताए । उनले यसका लागि सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्र र तहमा तीव्रताका साथ तयारी गर्न निर्देशन पनि दिए ।

‘निजी आवास मात्रै बनाएर पुग्दैन, सार्वजनिक संरचनाको पुनर्निर्माण तथा आर्थिक, सांस्कृतिकसहित समग्र पुनःनिर्माणको योजना बनाएर अघि बढ्ने योजना हुनुपर्दछ’, प्रधानमन्त्री दाहालले भने । उनले कर्णाली र सुदूरपश्चिमका जनताको सामाजिक, सांस्कृतिक पहिचान र संस्कृतिको सम्मानका साथै उनीहरूसँगको छलफल र सहमतिका आधारमा पुनर्निर्माणको अभियान थालनी गरिनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले पुनर्निर्माणको कार्यमा स्थानीय स्रोतसाधनको उपयोग र परिचालन, सीप विकास तथा रोजगारी सिर्जनाको अवसर, मौलिक तथा भूगोल र जलवायु अनुकूल बस्ती विकासमा ध्यान दिन आग्रह गरे । उनले भूकम्प या प्राकृतिक विपद्पछि उद्धार वा त्यसबाट जोगिने विषयमा केही समय चर्चा हुने गरे पनि विपद्को पूर्वजोखिमको आकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासीनता रहने गरेको उल्लेख गरे ।

‘यस पटक शृङ्खलाबद्धरूपमा आएका भूकम्पले जोखिम प्रतिरोधी संरचना र सोहीअनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ, अब पुनःनिर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त बजेटको व्यवस्था गर्ने विषयमा मेरो जोड रहेको छ’, प्रधानमन्त्री दाहालले भने ।

विगतका अनुभवबाट पाठ सिक्दै नेपाललाई कसरी विपद् र जलवायु परिवर्तन उत्थानशील बनाउने भन्ने चुनौती नेपालसामु रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत नै पुनर्निर्माणको काम अघि बढाइने बताए । भूकम्पका असर र प्रभावलाई राम्रोसँग विश्लेषण गरेर यसपछि आउनसक्ने विपत्तिको व्यवस्थापन गर्न व्यावहारिक र प्रभावकारी नीतिगत आधार तयार गर्नुपर्छ भन्दै उनले क्षति भएका र जोखिममा रहेका संरचना मात्र नभई कमजोर तथा जोखिममा रहेका संरचनालाई पनि प्रबलीकरण गर्नुपर्ने बताए ।